बेरुजु फछ्र्यौटको लागि ध्यानाकर्षण पत्र

बेरुजु फछ्र्यौटको लागि ध्यानाकर्षण पत्र


■ अभिनव गुप्ता, नेपालगन्ज

बाँकेका स्थानीय तहरुको बेरुजु फछ्र्यौटको लागि जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तवलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बाँके जिल्लाका नागरिक समाज संस्थाहरु, सामाजिक अभियन्ताहरुले बाँकेका ८ वटै स्थानीयतहको बेरुजु रकम बढ्दै गएकोले तत्काल बेरुजु फछ्र्यौट गरी स्थानीय तहहरुको पारदर्शिता र सुशासन कायम गर्नको लागि ध्यानाकर्षण पत्र बुझाइएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताए ।

जनताले सरकारलाई बुझाएको करको विषयमा उनीहरुले जान्न, बुझ्न पाउने र आएको बेरुजु रकम फछ्र्यौटको लागि अनुरोध गर्न पाउने उनीहरुको हक भएको हुँदा बाँकेका ८ वटै स्थानीय तहहरुले आ–आफ्नो स्थानीय तहहरुको वेरुजु फछ्र्यौट गरी पारदर्शी, जवाफदेही तथा सुशासनयुक्त तवरले विकासका कृयाकलापहरु संचालन गर्न पनि अनुरोध गरिएको छ ।

जिल्ला परिषदमा बेरुजु फछ्र्यौटको लागि बाँकेका सबै स्थानीय तहरुलाई विशेष रुपले पहल गर्नको लागि ध्यानाकर्षण–पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउनेहरुमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, कार्यक्रम ब्यवस्थापक रविन्द्रकुमार ज्ञवाली, जवाफदेहिता अधिकृत सोम गुरुङ्ग, कृष्णमुरारीप्रसाद भट्ट, सुदिप भट्टराई, बासका मन भण्डारी, हेमराज भट्ट र पत्रकार रजनी योगी रहेका छन् ।