नेकपाका स्थानीय नेताद्वारा पैंतालिस लाख ठगी

नेकपाका स्थानीय नेताद्वारा पैंतालिस लाख ठगी


■ एस. क्षेत्री, कपिलवस्तु

नेकपा वाणगंगा नगर कमिटीका अध्यक्ष विश्व कार्कीले जागिर लगाई दिने प्रलोभन दिएर ४५ लाख ३० हजार रुपैया ठगी गरेको आरोप लागेको छ । नेता कार्कीले नेपाल प्रहरी, शिक्षा सेवा आयोग र स्वास्थ्य सेवामा जागिर लगाई दिने प्रलोभन दिएर आफुहरुसँग करिव ४५ लाख ३० हजार रुपैयाँ ठगी गरेको पडिितहरुले बताए ।

कपिलवस्तु, पाल्पा, गुल्मी, रुपन्देही र अर्घाखाँचीका युवाहरुसँग ग्यारेन्टीका साथ जागिर लगाइदिने भन्दै रकम लिएको पीडित युवाहरुले बताएका छन् । नेता कार्कीबाट ठगिएका १२ जना पडिित युवाले लिखित रुपमै आफुहरु ठगिएको र सो रकम उठाउन सहयोग गरिदिन नेकपाका जिल्ला अध्यक्ष झवि पोखरेललाई अनुरोधपत्र पेश गरेका छन् ।

जागिर पाउने आशामा लाखौँ रकम बुझाएका युवाहरुले जागिर नपाएपछि पटक-पटक आफ्नो रकम फिर्ता माग्दा रकम नपाएको बताएका छन् । आफूहरुले कार्कीलाई बुझाएको नगद रकम फिर्ता नपाएको भन्दै कार्कीविरुद्ध उनकै पार्टीमा लिखित निवेदन पेश गरेका हुन् ।

जागिरका लागि केन्द्रका नेता, सरकारी उच्चपदस्थ कर्मचारीलाई मिलाउनु पर्ने भन्दै आफुहरुसँग नेता कार्कीले रकम असुल गरेको पडिितहरुले बताएका छन् । आफूले बझाएको पैसा फिर्ता माग्दा नेता कार्की आफूहरुसँग लुक्दै हिँडेको, फोन सम्पर्कमा नआएको पीडित ताराबहादुर थापाले बताए । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा नेता कार्कीको मोबाईल फोन बन्द रहेको पाइयो ।

वाणगंगा नगरका अध्यक्ष कार्कीविरुद्ध ठगी गरेको भन्दै जिल्ला पार्टी कार्यालयमा लिखित निवेदन आएको नेकपाका जिल्ला अध्यक्ष झवि पोख्रेलले बताए । प्राप्तका आधारमा निवेदन दिएका १२ जनालाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको अध्यक्ष पोखरेलले बताए । निवेदनअनुसारको व्यहोरा पुष्टि भए सोहीअनुसार पार्टीले जिल्ला कमिटीमा छलफल गरी अघि बढ्ने जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिए ।

पार्टी सरकारमा भएका बेला यस्तै दलाल, अवसरवादी नेताहरुले केन्द्रमा पहुँच छ भन्दै स्थानीय स्तरमा सर्वसाधारणलाई ठग्दा पार्टीको समेत छवि बिग्रने नेकपाका एक जिल्ला कमिटी सदस्यले गुनासो गरे । ठगी प्रमाणित भए नेता कार्कीलाई पार्टीले कारवाही गर्नुपर्ने जिकीर उनको छ ।