आरजुलाई मन नपरेकोले सङ्गठनबाटै निष्कासन !

आरजुलाई मन नपरेकोले सङ्गठनबाटै निष्कासन !


नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीलाई आफ्नो काबुमा लिन नेताहरूबीच होडबाजी शुरु भएको छ । यस्तो होडबाजीमा सबैभन्दा अगाडि शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देखिएका छन् । चौधौँ महाधिवेशनलाई आफ्नो अनुकूल बनाउन आरजु राणाले डडेल्धुराबाट ‘विपक्षी’ मास्ने अभियान शुरु गरेकी छिन् ।

पार्टीको जिल्ला सभापति कर्ण मल्ललाई कमजोर नबनाएसम्म डडेल्धुराको राजनीति आफ्नो हातमा आउन नसक्ने देखिएपछि पति देउवाको आडमा आरजु राणाले मल्लनिकटका सबैलाई पार्टीबाट हटाउँदै जाने र महाधिवेशनसम्ममा सभापति कर्ण मल्ललाई समेत पार्टीबाट निकाल्ने योजना बनाएको बुझिएको छ । आरजुले जिल्लामा लोकप्रिय नेतृ महिला सङ्घ डडेल्धुराको जिल्ला सभापति कमला विष्टलाई सभापति पदबाट बलजफ्ती मुक्त गराउँदै महिला सङ्घको साधारण सदस्यबाट समेत तीन वर्षको लागि निष्कासन गरिएको पत्र थमाउन लगाएकी छिन् ।

०५३ सालदेखि पार्टीमा निरन्तर क्रियाशील कमला विष्ट ०७१ सालमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएकी थिइन् । ०७२ मा पार्टीको जिल्ला कार्यसमितिमा समेत निर्वाचित भएकी विष्ट पार्टीमा अत्यन्त सक्रिय र लोकप्रिय मानिन्छिन् । स्नातकसम्म अध्ययन गरेकी, आत्मविश्वासी र क्षमतावान कमला विष्ट आरजुको इत्छाविपरीत महिला सङ्घको सभापतिमा उम्मेदवार भएर विजयी बनेकी थिइन् । विष्टले आफ्नो इच्छा र इसारा बुझेर काम गर्ने नगरेको भन्ने गुनासो विगतदेखि नै आरजुको रहँदै आएको थियो ।

आगामी चौधौँ महाधिवेशनसम्म कमला विष्टलाई पदीय जिम्मेवारीमा निरन्तरता दिँदा डडेल्धुरा काङ्ग्रेसमा देउवादम्पतीको स्थिति लज्जास्पद हुने देखिएपछि सभापति कर्ण मल्ललाई कमजोर तुल्याउन मल्लका समर्थकहरूलाई एक–एक गर्दै पार्टीबाट निकाल्ने अभियानअन्तर्गत कारबाही गरिएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

विष्टलाई निष्कासन गरेको पत्र थमाएर उपाध्यक्ष कलापति बोहोरालाई महिला सङ्घको अध्यक्ष बनाएको पत्र गत असार १५ गते दिइएको थियो । त्यसपछि कलापति बोहोरा केही महिलासहित बैठक बस्न साउन ७ गते पार्टी कार्यालय पुगेकी र कार्यालय बन्द रहेकोले कलापति ढोका फुटाएर भित्र प्रवेश गरेकी थिइन् । पार्टी कार्यालयको ढोका फुटाएर भित्र प्रवेश गरेको विषयलाई लिएर उत्पन्न विवादका बीच सामान्य झडपसमेत भएको थियो ।

यसरी कलापतिले पार्टी कार्यालयको ढोका फुटाएपछि मात्र सभापति कमला विष्टले आफूलाई मदमुक्त गरिएको जानकारी पाएकी थिइन् । विष्टले आफू सभापति पदमा यथावत् रहेको बताउँदै सङ्गठनको काम–कारबाही निरन्तर अघि बढाउने सङ्केत दिएपछि आरजु राणाले महिला सङ्घकी केन्द्रीय सभापति उमा रेग्मीलाई एक पत्र लेख्न लगाउँदै कमला विष्टलाई महिला सङ्घको साधारण सदस्यबाट तीन वर्षका लागि हटाउन लगाएकी हुन् । गत साउन १० गतेको मितिमा आफूलाई हटाइएको पत्र पाएपछि विष्टले पार्टीको केन्द्रीय कार्यालय र महिला सङ्घमा उजुरी दिएकी छिन् । तर, विष्टको उजुरीलाई दुवै निकायले उपेक्षा गरेका छन्, बगरेका अगाडि खसी–बाख्राले बिन्ती गरेजस्तै भएको छ कमलाको उजुरी ।

यतिबेला कमला विष्ट न्यायका निम्ति पार्टीमा गुहार गरिरहेकी छिन्, तर पार्टीको शीर्ष तहमै पीडकहरू भएकोले विष्टले न्याय पाउने सम्भावना देखिएको छैन । घटना र विचारले विष्टसँग सम्पर्क गर्दा उनले भनिन्, ‘काङ्ग्रेस लोकतान्त्रिक पार्टी भन्ने विश्वास भएकोले यसमा लागिएको हो, तर व्यवहार फरक भयो । मेरो आत्मसम्मानमा ठेस लागेको छ, हुकुमी शासन त होइन नि !’

आरजु राणाले तपाईंलाई मन नपराउनुको कारणचाहिँ के होला त भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै सभापति कमला विष्टले भनिन्, ‘मलाई रिस या इर्ष्या गर्नुपर्ने त्यस्तो कुनै पनि कारण म देख्दिनँ । उहाँसँग पैसा माग्न, चाप्लुसी गर्न र कुरा मिलाउन भनेर मैले समय छुट्याउने गरेको छैन । जिल्लामै काम गरेर बस्ने गरेकी छु, कार्यकर्ताले पार्टी काम गर्नुपर्ने व्यहोरा विधानमा उल्लिखित छ । मैले विधानको अक्षर–अक्षर केलाएँ, त्यहाँ आरजु राणाको चाप्लुसी पनि गर्नुपर्छ भनेर कतै लेखिएको पाइनँ र मैले उहाँलाई रिझाइरहन आवश्यक पनि ठानिनँ । त्यही भएर हामीलाई फरक व्यवहार गरिएको होला कि जस्तो मलाई लागेको छ ।’

० अब के गर्नुहुन्छ त ?

– न्यायको निम्ति लड्छु । यस घटनापछि मैले धेरैको साथ र सहानूभूति पनि पाएकी छु । मेरो आत्मविश्वास बढेको छ । बल्ल मेरो राजनीतिक जीवन शुरु भयो जस्तो लागेको छ । हामीले वर्षौंदेखि पार्टीमा गरेको लगानीको उपेक्षा जसरी गरियो, यसलाई मैले एउटा चुनौतीका रूपमा लिएको छु । गलत प्रवृत्तिसँगको यो लडाइँमा अन्तिम विजय न्याय र सत्यकै हुने विश्वास मैले गरेकी छु ।