किन जाँदै छन् केपी दोहोऱ्याएर सिङ्गापुर ?

किन जाँदै छन् केपी दोहोऱ्याएर सिङ्गापुर ?


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर अनेकौँ चर्चा र अड्कलबाजी शुरु भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमै आयोजित सचिवालय बैठकमा सहभागिता नजनाएको, प्रचण्डसमक्ष आफ्नो स्वास्थस्थिति कमजोर भएको भनी स्वीकार गरेको र फेरि सिङ्गापुर जान लागेकोले उनको स्वास्थ्यस्थिति साँच्चै कमजोर भएको ठानिएको छ ।

प्रचण्ड र वामदेव गौतमलगायत नेकपाकै केही नेताहरूले केपीको स्वास्थ्य धेरै कमजोर भएको भन्दै ‘खुसीका साथ’ प्रचार गरेकोले पनि आममानिसमा एकप्रकारको तरङ्ग पैदा हुन पुगेको छ । तर, घटना र विचारलाई प्राप्त जानकारीअनुसार बाहिर चर्चा भएझैँ केपीको स्वास्थ्य कमजोर भएको होइन ।

गत साउनमा स्वास्थ्य परीक्षणका निम्ति सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल पुगेका ओलीले आफ्नो मिर्गौलाको अवस्थाबारे जिज्ञाशा राख्दै अर्को बदल्नुपर्ने हो कि भनी चिकित्सकहरूसँग सोधेका थिए । परीक्षणपछि चिकित्सकले मिर्गाैलाले राम्रो काम गरिरहेकोले पुनः बदल्नुपर्ने अवस्था नरहेको स्पष्ट गरिदिएका थिए । तर, केपीले यसअघि दिनमा तीनपटक लिँदै आएका एउटा औषधि भने बदलिएको थियो । दुईपटक मात्र सेवन गर्नुपर्ने नयाँ औषधि दिँदै चिकित्सकहरूले नयाँ औषधि ‘एडजस्ट’ हुन केही दिन लाग्ने जानकारी ओलीलाई गराएका थिए ।

त्यसैगरी दुई मात्रा दिनुपर्ने अर्को एक औषधि सामान्य अवस्थामा बाह्र घन्टा लाग्नेमा एक मात्रा औषधि दिन झन्डै पाँच दिन लागेको थियो । अर्को मात्रा दुई सातापछि मात्र दिनुपर्ने भएको, तर त्यत्तिका निम्ति दुई साता पर्खन नसकिने भएकोले प्रधानमन्त्री त्यसबेला नेपाल फर्किएका थिए । यही भदौ ५ गते उक्त औषधिको दोस्रो मात्रा ग्रहण गर्न र थप परीक्षणका निम्ति ओली सिङ्गापुर जान लागेका हुन् । यसपटक दोस्रो मात्रा औषधि लिइसकेपछि दशदेखि पन्ध्र दिनभित्रै प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी प्राप्त भएको छ ।