कस्मिर विषयलाई लिएर भारत र पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको फोन

कस्मिर विषयलाई लिएर भारत र पाकिस्तानी प्रधानमन्त्रीलाई ट्रम्पको फोन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत फोनमा दुवै देशका प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका छन् । ट्रम्पले ट्विटमा भनेका छन्, ‘मैले मेरा दुई असल साथी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग कुराकानी गरेको छु ।’

व्यापार, रणनीतिक साझेदारी, भारत र पाकिस्तानको सहकार्यलगायतका विषयमा पनि कुराकानी भएको ट्रम्पले उल्लेख गरेका छन् । कस्मिर मामिलामा परिस्थिति नराम्रो भए पनि वार्ता निकै राम्रो भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन् ।

यही अगस्ट ५ तारिखका दिन भारत सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु–कस्मिरलाई दिइएको विशेष अधिकार समाप्त गरेको थियो । भारत सरकारले जम्मु–कस्मिरलाई केन्द्रशासित प्रदेश तथा जम्मु–कस्मिरबाट लद्दाख क्षेत्रलाई अलग गरी अर्को केन्द्रशासित प्रदेश बनाएको थियो ।

भारत सरकारको उक्त घोषणापछि भारत र पाकिस्तानबी फेरि सम्बन्ध चिसिएको छ भने विश्व समुदायले पनि चासोका साथ हेरेको छ ।