रविको समर्थनमा भएको प्रदर्शनप्रति नेकपा चितवनको आपत्ति

रविको समर्थनमा भएको प्रदर्शनप्रति नेकपा चितवनको आपत्ति


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले पत्रकार रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनप्रति आपत्ति जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनीको मृत्यु सम्बन्धमा भइरहेको अनुसन्धानलाई नै प्रभाव पार्ने गरी रवि लामिछानेको पक्षमा प्रदर्शन भएको भन्दै नेकपा चितवनले विरोध जनाएको हो ।

नेकपा चितवन जिल्ला समितिद्वारा जारी विज्ञप्तिमा पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले अनुसन्धान गर्न दिइनुपर्ने उल्लेख छ । विज्ञप्तिमा अनुसन्धानप्रति न्यायालयको निर्णयउपर चित्त नबुझे पुनरावेदन गर्न पाउने संविधानमै प्रावधान रहेको जानकारी पनि गराइएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा सामान्य परिस्थितिलाई असामान्य बनाउने गरी लगाइएको नारा परिवर्तनविरोधी भएको भन्दै आपत्ति जनाइएको छ । रविको समर्थनमा भइरहेको प्रदर्शनमा गणतन्त्रकै विरुद्ध नारा लगाइएको भन्दै विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’