मोसेन खान फुटबलमा एसएनकेसी च्याम्पियन

मोसेन खान फुटबलमा एसएनकेसी च्याम्पियन


एसएनकेसी (ओडी एल्लो) ले प्रथम मोसेन खान स्मृति भेट्रान कप डे, नाइट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा चावहिलस्थित गणेशथानमा भएको फाइनलमा एसएनकेसीले बनेपा ब्वाइज क्लबलाई ३–१ गोलले पराजित गरेको हो ।

विजयी टिमका लागि सरोज लामा र निमा लामाले १–१ गोल गरे भने एक गोल आत्माघाती रह्यो । एसएनकेसीका आकाश गुरुङ ‘म्यान अफ द म्याच’ भए । बनेपाका अमिम शाक्यले सान्त्वना गोल गरे । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाए ।

चावहिल खान परिवारको सहयोगमा भएको प्रतियोगितामा बनेपाका अमिम उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा राजेन्द्र गौतम तथा डिफेन्समा प्रदीप लामा उत्कृष्ट चुनिए । दुवै उपाधि विजेता टोलीका हुन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका सदस्य समिम मियाँ अन्सारी, काठमाडौं महानगरपालिका वडा नं. ७ का शुद्धकुमार डंगोल, स्व. मोसेनकी धर्मपत्नी जमजम बानुलगायतले पुरस्कृत गरे । साउन २३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।