यसकारण फेरि जाँदै छन् प्रधानमन्त्री सिंगापुर

यसकारण फेरि जाँदै छन् प्रधानमन्त्री सिंगापुर


दश दिन लामो उपचारपछि गत सोमबार मात्र स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि फेरि सिंगापुर जाने भएका छन् । उनी अस्तिको स्वास्थ्योपचारको फलोअपका लागि भदौ ५ गते बिहीबार सिंगापुर जान लागेका हुन् ।

गत उपचारको क्रममा सिंगापुरमा उपचार हुँदा उनलाई केही समय अझै बस्न डाक्टरले सुझाव दिएका थिए । यसपालि प्रधानमन्त्री ओलीलाई प्रयोग गरिएको औषधिको शरीरमा पर्ने प्रभाव हेर्न पनि चिकित्सकले उनलाई केही समय सिंगापुरमै रहन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओलीले देशमा आफ्नो महत्वपूर्ण काम रहेको र आवश्यक परे फेरि आउने वचन दिएअनुसार चिकित्सकले उनलाई नेपाल फर्किने अनुमति दिएका थिए । तर, नेपाल फर्किने अनुमति दिएसँगै एक सातादेखि एक महिनाभित्र फलोअपका लागि सिंगापुर आउन पनि आग्रह गरेका थिए ।

पछिल्लोपटक प्रधानमन्त्रीले सेवन गर्ने गरेको औषधिले उनमा केही साइटइफेक्ट गरेको बताइन्छ । त्यसैले पनि उनी विलम्ब नगरी बिहीबार फलोअपका लागि सिंगापुर जान लागेको स्रोतले जनाएको छ ।