वर्ल्ड पुलिस एन्ड फायर गेम्समा निमेशको ‘ह्याट्रिक’





चीनको छेन्दुमा भइरहेको वर्ल्ड पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जित्दै ह्याट्रिक गरेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले आफूले भाग लिएका तीनवटै विधामा स्वर्ण जित्ने क्रममा भदौ १ गते आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए । त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए ।

निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । उनले चीन र भारतका खेलाडीलाई पछिपारेका थिए । दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए । भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर कास्यपदक हात पारे ।

सिंगापुर पुलिस फोर्समा कार्यरत भए पनि निमेश नेपाली पासपोर्ट बोक्छन् । जसकारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ ।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरूको प्रतिस्पर्धा हुने गरेको छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको हाल चीनमा १८औँ संस्करण संचालन भैरहेको छ ।

एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । संखुवासभामा जन्मिएका निमेश सिंगापुरका नाम चलेका धावकमा पर्छन् । प्रशिक्षकविनाका धावक निमेशले सन् २०१३ देखि दौडिन थालेका हुन् । उनले सन् २०१४ मा ५ हजार मिटर दौडमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए ।

सिंगापुर हुने स्थानीय प्रतियोगितमा हरेक साताजस्तो पदक जित्ने निमेशले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन् । यस वर्ष उनले विभिन्न खेलका खेलाडीलाई पछि पार्दै सिंगापुर पुलिसको पिएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए ।

प्रतिक्रिया