सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै

सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै


गतवर्षको भदौदेखि देवानी संहिता ऐन २०७४ अर्थात् नयाँ मुलुकी संहिता कार्यान्वयन भएको एक वर्षको अवधिमा १९८ जोडीद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरिएका छन् ।

लमजुङस्थित बेसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङमा नयाँ कानून लागू भएको एक वर्षको अवधिमा सो सङ्ख्यामा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताए ।

विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानून लागूभएसँगै महिला जस्तै पुरुषलाई पनि सहज भएपछि जिल्लामा सम्बन्धविच्छेद गर्ने पुरुष बढ्दै गएका हुन् । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै गत भदौदेखि चालू आवको साउनसम्ममा जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका मुद्दामध्ये ५१ जना पुरुषद्वारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेका छन् ।

उक्त ५१ मुद्वामध्ये १४ सम्बन्धविच्छेद भइसकेका र ३० मुद्दा फैसला हुन बाँकी रहेका श्रेस्तेदार भण्डारीले बताउनुभयो । त्यस्तै, नयाँ कानून लागूभएदेखि साउन समान्तसम्ममा १४७ जना महिलाद्वारा सम्बन्धविच्छेदका मुद्दा दर्ता गरिएका अदालतले जनाएको छ । सोमध्ये १२० सम्बन्धविच्छेदका मुद्दा फछ्यौँट भई सबै मिलापत्र गरिएका र २७ मुद्दा मात्रै फैसला हुन बाँकी रहेका श्रेस्तेदार भण्डारीले बताए ।

एक वर्षको अवधिमा महिला र पुरुष गरी १९८ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६४ मुद्दाको फैसला हुन बाँकी छ । दुवै पक्षले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरे पनि दुईमध्ये एक जनाले सम्बन्धविच्छेद गर्न नचाहेमा सो मुद्दाको छिनोफानो हुन एक वर्ष लाग्ने श्रेस्तेदार भण्डारीले जानकारी दिए । पारिवारिक कारण, वैदेशिक रोजगार, विदेशीको नक्कल, बालविवाह, बहुविवाह, इन्टरनेटको बढ्दो प्रयोग, देखावाटी जस्ता कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका अदालतले जनाएको छ ।

बालबिवाह, इच्छा विपरीत विवाह, वैदेशिक रोजगारलाई कम गर्न सकिएमा सम्बन्धविच्छेदका घटनामा कम आउने नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए ।