‘दुई संघ दर्ता गरेर किन विवादको बिउ रोपियो’

‘दुई संघ दर्ता गरेर किन विवादको बिउ रोपियो’


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन् ।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले सिलवालको सम्मानमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा सदस्यसचिव सिलवालले भने– ‘खेलकुद अनेकतामा एकता ल्याउने माध्यम हो । हिजोका दिनमा एउटा संघ हुँदाहुँदै अर्को संघ दर्ता गरेर किन विवादको बिउ रोपियो । मलाई थाहा भएन । तर यो कुरा राम्रो होइन । यो समस्याको समाधान गर्न आवश्यक छ ।’

सदस्यसचिव सिलवालले आठौं सागमा नेपालले तेक्वान्दोमा हासिल गरेको उपलब्धि पछिका दिनमा किन खस्किँदै गयो, त्यसको समीक्षा गर्ने बेला आएको बताउदै कमजोरी पत्ता लगाएर विगतको भन्दा राम्रो परिणाम ल्याउने अवस्थाको सिर्जना गर्न आवश्यक रहेको बताए ।

आयोजक संघका अध्यक्ष केशव पुरीले सदस्य–सचिव सिलवालले शिक्षा क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको बताउँदै अब खेलकुदमा पनि त्यसैगरी राम्रो छाप छाड्ने सफलता मिलोस् भनी शुभकामना दिए ।