चट्याङले भेडा सखाप, १० लाख बराबरको क्षति





म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए ।

सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

प्रति भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार पर्छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया