कलाकार अधिकारीको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा

कलाकार अधिकारीको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा


वरिष्ठ कलाकार शुभद्रा अधिकारीको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । दम र निमोनिया रोगले पीडित अधिकारीको आज (शनिबार) बिहान निधन भएको थियो ।

नेपाली सिनेमा क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको जन्म २००३ सालमा काठमाडौंको असनमा भएको हो भने अधिकारीले जीवनको अन्तिम समयसम्म नै कलाकारितामा आफ्नो जीवन समपर्ण गरेर जानुभएको छ । उहाँले ६ वर्षको उमेरदेखि नेवारी नाटक कचिमचा अर्थात् काँचो माटोबाट अभिनय यात्रा थाल्नुभएको थियो ।

मनको बाँधबाट चलचित्रमा अभिनय सुरु गर्नुभएकी अधिकारीले चिनो, कन्यादान, वसन्ती, मुनामदनजस्ता चलचित्रमा प्रभावशाली अभिनय दिएर नेपाली चलचित्रको पर्दामा एक अविष्मरणीय कलाकारको रुपमा इतिहास बनाउनुभएको छ ।

नृत्य, रङ्गमञ्च हुँदै चलचित्र कलाकारका रुपमा लामो समय कलाकारिता गर्नुभएकी अधिकारीलाई सरकारले विशिष्ट श्रेणीको सुविधा दिँदै आएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

स्व. अधिकारीले लामो समय सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा समेत सेवा गर्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई पशुपति आर्यघाट पुग्नु भई स्व अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

विसं २००४ भदौ २० गते जन्मनुभएकी अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको हो । कलाकारमाझ मिलनसार र मृदुभाषीको परिचय बनाउनुभएकी अधिकारीका एक छोरा र एक छोरी हुनुहुन्छ ।