पोस्टमार्टमपछि आफन्तजनको जिम्मा लगाइयो अधिकारीको शव

पोस्टमार्टमपछि आफन्तजनको जिम्मा लगाइयो अधिकारीको शव


■ हेमशंकर सिंह, राजविराज

सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साहमा स्कार्पियो पिकअप दुर्घटनामा ज्यान गुमाएका पत्रकार डायलसन अधिकारिको शव पोस्टमार्टमपछि आफन्तजनको जिम्मा लगाइएको छ ।

रेडियो नेपालका बुटवल सम्वाददाता अधिकारीको शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शनिबार बेलुकी पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तिलोत्तमा नगरपालिका वार्ड नं. १ का वडाअध्यक्ष तामनाथ पाण्डे, वार्ड नम्बर ५ का अध्यक्ष सोहन चौधरी, उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष जेपी कँडेल र चालक अशोक भण्डारीलाई थप उपचारका लागि विराटनगरबाट शनिबार दिउँसो काठमाडौ पठाइएको रेडियो नेपालका सप्तरी संवाददाता संजिवविक्रम साहले बताए ।

चारै जनालाई ठेलीयास्थित धर्मेश्वर हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पठाइएको थियो ।

रुपन्देहीको बुटवलबाट विराटनगर जाँदै गरेको बा १६ च २२३५ नम्बरको स्कारपियो पिकअप अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । करिव २ मिटर दूरीदेखि अनियन्त्रित भएको स्कारपियोले सडक छेउमा रोकेर राखेको स्थानीयवासी रामकुमारी खत्रीको स. ११ प ४६२९ नम्वरको स्कुटरमा समेत क्षति गरेको प्रहरीको भनाई छ ।