स्वतन्त्रता दिवसमा मोदीद्वारा ‘एक देश, एक निर्वाचन’को प्रस्ताव

स्वतन्त्रता दिवसमा मोदीद्वारा ‘एक देश, एक निर्वाचन’को प्रस्ताव


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारबारे बहस आवश्यक रहेकामा जोड दिए ।

लालकिल्लाबाट छैटौँपटक सम्बोधन गरेका प्रधानमन्त्री मोदीले भने, ‘जीएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ । ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रिड प्रणाली कार्यान्वयनमा आइसकेको छ । अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदै छ र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन ।’

एक भारत, श्रेष्ठ भारतको सपना पूरा गर्न केही जरुरी कामहरू गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले कस्मिरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा रहेको बताए । उनले जम्मु–कस्मिरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरू प्रमुख भारतीय नेताहरूको चाहना आज पूरा भएको चर्चा गरे ।

उनले भने, ‘एक देश, एक संविधान – यो यथार्थमा हासिल भएको छ र भारत यसप्रति गर्व गर्दछ ।’ मुलुकको हित पहिलो हो भन्दै प्रधानमन्त्री मोदीले भने, ‘हामी भिन्नभिन्न किसिमबाट सोच्न सक्दछौँ, तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन । राजनीति आउँछ जान्छ, तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरू सर्वोपरी हुन् ।’

एक देश, एक चुनावको अर्थ भारतीय लोकसभा र राज्य सभाहरूमा एकै किसिमको चुनावी व्यवस्था हो । ‘हामी समस्या निम्त्याउने वा त्यसलाई लम्ब्याउने पक्षमा थिएनौँ र त्यसमा हाम्रो विश्वास पनि थिएन । नयाँ सरकार बनेको ७० दिन पनि नबित्दै धारा ३७० इतिहास बन्यो । संसदको दुईतिहाइ बहुमतले पारित पनि गरिसकेको छ,’ प्रधानमन्त्री मोदीले बताए ।

उनले जम्मु–कस्मिर र लद्दाखमा रहेको पुरानो व्यवस्थाले भ्रष्टाचार, नातावाद र अन्याय मात्र बढेको चर्चा गर्दै पुरानो व्यवस्थाबाट महिला, बालबालिका, दलित, आदिवासी समुदायको अधिकार कटौती भएको दाबी गरे । प्रधानमन्त्री मोदीले झन्डै ९२ मिनेट सम्बोधन गरेको यस कार्यक्रममा स्कुले बालबालिकाद्वारा विभिन्न प्रदेशका झाँकीहरू प्रस्तुत गरिएका थिए ।

रासस–एएनआई