शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै


एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली साउन ३१ ग्ते शुक्रबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।

अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिट्नेस फिजिकमा राजु राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् ।

तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए ।

टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।