जनैपुर्णिमाको अवसरमा लमजुङको दुधपोखरीमा तिर्थालु भक्तजनको भिड

जनैपुर्णिमाको अवसरमा लमजुङको दुधपोखरीमा तिर्थालु भक्तजनको भिड


  • छविलाल बगाले

पर्यटकिय गन्तव्यको रुपमा विख्यात दूधपोखरी कुण्डमा जनैपूर्णिमा नुहाउनेहरुको भिड लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौं तीर्थयात्रीहरु दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । हिमालको काखमा तीन चार दिनको कठीन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभइ देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ ।

नेपालको मध्य पहाडी जिल्ला लमजुङको सुदुरपूर्वमा पर्ने दूधपोखरी कुण्डमा हरेक बर्ष जनैपूर्णिमाका दिन धार्मिक मेला लाग्ने गर्दछ । देवादि देव महादेवको बासस्थानको रुपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन गएर नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक बर्ष जनै पूर्णिमामा भक्तजनहरुको ठूलो घुइँचो लाग्छ । लमजुङ गोरखा, तनहूँ, कास्की, चितवन र काठमाडौं देखिका तीर्थालु भक्तजनहरु यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने विश्वास रहँदै आएको छ ।

मानववस्तीबाट निकै टाढा रहेको दूधपोखरी पुग्नका लागि पृथ्वी राजमार्ग अन्तर्गत तनँहुको डुम्रे बजारदेखि २५ किलोमिटर उत्तर लमजुङको पाउँदीबजार हुदै तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ, गौंडा, इलमपोखरी, जोर्नेसम्म मोटर र लिपेलेकदेखि पैदल यात्राबाट बांगे ओडार, गैरीखर्क, धर्म गौंडो हुँदै दुई दिनको यात्रापछि दूधपोखरी पुग्न सकिन्छ ।

उच्च हिमाली क्षेत्रमा पर्ने र मानववस्तीबाट निकै टाढा रहेकाले त्यहाँ जाने बाटो स्पष्ट छैन । तीर्थयात्रीहरुले सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नुपर्छ । त्यहाँको बाटो पनि निकै अप्ठेरो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तीर्थयात्री अथवा स्थानीय बासीन्दाको सहयोग नलिए बाटो विराउने सम्भावना बढी हुन्छ । भीर, जंगल, खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने भएकाले निकै कठीन भए पनि रोमाञ्चकारी हुन्छ । यात्राको क्रममा जुकाले पनि त्यतिकै सताउने गर्छन् ।

दूधपोखरीको यात्रा कठीन भए पनि मनोरम प्राकृतिक दृष्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै हुँदैन । चराचुरुंगीको चिरविराहट, असंख्य लेकाली फूल, बनस्पति दूधपोखरीको यात्राका क्रममा सुन्न/देख्न पाइन्छ । लोपोन्मुख, जंगली जनावरदेखि बहुमूल्य जडिबुटीहरु यस भेगमा पाइन्छन् ।

जोर्नेभन्दा माथि मानव वस्ती नभएकाले त्यहाँ खानेकुरा र पिउने पानी पनि पाइँदैन । त्यसैले यात्राका क्रममा पर्याप्त खानेकुरा र खानेपानीको जोहो तीर्थयात्री स्वयमले गर्नुपर्छ । दूधपोखरीको यात्रामा बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठमा पुग्नु पर्दछ । तसर्थ तीर्थयात्रीहरुले टेण्ट र ओढ्ने ओछ्याउनेको प्रवन्ध आफैले गर्दछन् ।

दूधपोखरी पुग्न ४–५ घण्टाको दूरी बाँकी रहँदा भेडीगोठहरु भेटिन्छ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले निकै सहयोग गर्छन् । गोठमा दूध, दही, छुर्पी, लगायतका खानेकुरा पाइन्छन् । थकाइले लखतरान परेका बेला त्रिपालले छाएको साँघूरो गोठमा आगो ताप्दै थकाइ मार्न पाउँदा र खानेकुरा खान पाउँदा तीर्थयात्रीहरु निकै आनन्दको महसुस गर्दछन् ।

दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी रहँदा धर्म गौंडो भन्ने ठाउँ आउँछ । यो गौंडो कट्न जो कोही पनि नसक्ने धार्मिक विश्वास छ । जो यो गौंडो कट्न सक्छ उसको सबै पाप हटेको विश्वास रहँदै आएको स्थानीयहरुको भनाई छ ।

भेडीगोठबाट ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ । पोखरीमा नुहाएर पूजा अर्चना गरी प्रार्थना गर्दा तीर्थयात्रीहरु मन धेरै हल्का भएको महशुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या पनि त्यतिकै हुन्छ । धेरै मोटा, रोगी, बृद्ध र बालकहरुका लागि यहाँको यात्रा निकै कठीन हुन्छ ।

दूधपोखरीमा यात्रुहरु बस्ने, थकाइ मार्ने धर्मशालाको ब्यवस्था अहिलेसम्म भएको छैन । दूधपोखरी पहिले निकै गहिरो थियोे । चेपे नदीको मुहान समेत रहेको यो पोखरीको संरक्षणमा न त सरकारी निकाय, न स्थानीयले नै पहल गरेका छन् । जसका कारण पोखरी पुरिँदै गएको बर्षौदेखि दूधपोखरी नुहाउँदै गरेका भक्तजनहरु बताउँछन् ।

धार्मिक तथा पर्यटकीय महत्वको दूूधपोखरी कुण्डको संरक्षणमा अब पनि सम्बन्धित निकायले चासो नदिने हो भने भोलीका पुस्तालाई दूधपोखरीको कथा सुनाउनु बाहेक अर्को विकल्प नरहने दूधपोखरीका स्थानीयको गुनासो छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरीको संरक्षण सम्बद्र्धन र प्रचार प्रसार गर्न सके सिंगो लमजुङको विकासमा टेवा पुग्ने देखिन्छ ।