राजनीतिका कारण ‘चेक एन्ड मिट’को खतरामा १३औँ साग

राजनीतिका कारण ‘चेक एन्ड मिट’को खतरामा १३औँ साग


■ श्रीविक्रम भण्डारी

आउँदो मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदै छ । नेपालले तेस्रोपटक आयोजना गर्न लागेको साग यतिबेला राजनीतिक कारण ‘चेक एन्ड मिट’को खतरामा परेको छ । छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच चर्किएको विवादले १३औँ सागलाई छायामा पार्ने सम्भावना प्रबल बनेको छ । यतिबेलासम्म भारत, श्रीलङ्का, बंगलादेश, भुटान र माल्दिभ्सले मात्रै १३औँ सागमा सहभागिताको लागि लिखित प्रतिबद्धता जनाउनुले पनि यो कुरालाई प्रमाणित गर्छ । पाकिस्तानले मौखिक रूपमा सहभागिता जनाउने भने पनि अहिलेसम्म लिखित रूपमा पत्राचार गरेको छैन । भारतले सहभागिता जनाए पाकिस्तानले भाग नलिने र पाकिस्तानले सहभागिता जनाए भारतले भाग नलिने चर्चा चलिरहेको अवस्थामा के नेपालमा साग होला त ? प्रश्न उठ्नु स्वाभाविक छ ।

सागमा सातवटै राष्ट्रको सहभागिता अनिवार्य हुन्छ । सोहीअनुरूप सागमा अहिलेसम्म दक्षिण एसियाली मुलुकका सातवटै राष्ट्रले सहभागिता जनाउँदै आएका छन् । यतिबेला परिस्थिति पहिलेको जस्तो सरल छैन, विषम बन्दै गएको छ । केही समयपश्चात् पाकिस्तनले पनि लिखित प्रतिबद्धता जनाउला यसमा दुईमत छैन । तर, १३औँ सागमा भारत र पाकिस्तानले सहभागिता जनाउने कुरामा अहिल्यै ठोकुवा गर्न सक्ने अवस्था छैन । एकातिर कस्मिरको विवाद, अर्कोतर्फ हवाई मार्गमा प्रतिबन्ध र सम्झौता रेल बन्द हुनुको प्रत्यक्ष प्रभाव १३औँ सागमा नपर्ला भन्न सकिँदैन । तर, सागको विधानमा सातवटै राष्ट्रको सहभागिता हुनुपर्ने स्पष्ट रूपमा उल्लेख नभएका कारण १३औँ सागको आयोजना भए पनि कति राष्ट्रले सहभागिता जनाउँछन् त्यो चर्चायोग्य बनेको छ ।

यसबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा दक्षिण एसियाली खेलकुद महासङ्घका अध्यक्ष जीवनराम श्रेष्ठले १३औँ सागमा दक्षिण एसियाली मुलुकका सातवटै राष्ट्रको सहभागिता रहने प्रस्ट पारे । साग गेम ओलम्पिक छाताभित्रको प्रतियोगिता हो, प्रतियोगितामा कसैले भाग नलिने कुरै आउँदैन । म यो कुराको कल्पनासमेत गर्न सक्दिनँ । अहिलेसम्म पाँचवटा राष्ट्रले लिखित प्रतिबद्धता जनाइसकेका छन् । पाकिस्तान मात्रै बाँकी छ, उसले पनि केही समयपश्चात् अवश्य पत्राचार गर्नेछ, यसमा म विश्वस्त छु । यदि पाकिस्तानले सहभागिता जनाएन भने १३औँ साग आयोजना हुन्छ कि हुँदैन भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘१३औँ सागको आयोजना कसैले रोकेर रोकिँदैन । सागको विधानमा पनि त्यस्तो कुनै कुराको व्यवस्था छैन । अहिलेसम्म सातवटै राष्ट्रले सहभागिता जनाएका छन्, यसपटक पनि सातै राष्ट्रको सहभागिता रहने कुरामा म ढुक्क छु ।’ स्मरणीय छ, राष्ट्रको मान, सम्मान र पदीय दायित्वका कारणले पनि श्रेष्ठले १३औँ सागबारे नकारात्मक टिप्पणी गर्न मिल्दैन । श्रेष्ठले त यतिसम्म भने, ‘यतिबेला बजेटको पनि समस्या छैन, सरकारले गर्ने भनेको कुरामा बजेट आइहाल्छ, अहिले बजेट अर्थ मन्त्रालयमा छ, भोलि खेलकुदमा आउँछ, चिन्ता मान्नुपर्ने कुरै छैन ।’

‘१३औँ सागको आयोजना कसैले रोकेर रोकिँदैन । सागको विधानमा पनि त्यस्तो कुनै कुराको व्यवस्था छैन । अहिलेसम्म सातवटै राष्ट्रले सहभागिता जनाएका छन्, यसपटक पनि सातै राष्ट्रको सहभागिता रहने कुरामा म ढुक्क छु ।’

नेपालले १३औँ सागको तयारी युद्धस्तरमा अगाडि बढाए पनि अन्योल भने पूर्ण रूपमा हट्न सकेको छैन । यसको प्रमुख कारण अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध बनेको छ । यदि केही सातामा उनीहरूको सम्बन्धमा सुधार आएको खण्डमा १३औँ सागको आयोजनामा मडारिएको कालो बादल फाट्न सक्छ । सागको वातावरण सफा हुन सक्छ । तर, उनीहरूको सम्बन्धमा सुधार नआए सागमाथि तेर्सिएको तरबार अझ प्रबल बन्नेछ । यो कुरा नेपालका खेलकुद पदाधिकारीले राम्रोसँग बुझेका छन्, तर आयोजक राष्ट्रका नाताले उनीहरूले मुख फुटाउन सकेका छैनन् । तसर्थ यस्तो विषम स्थितिमा आयोजक नेपालले ढुक्कसँग कार्य गर्न पाउने छैन, अर्थात् सन्त्रासको वातावरणमा रहनुपर्नेछ । जो आयोजक नेपालका लागि कदापि खुसीको खबर मान्न सकिँदैन । यस्तो अवस्थामा नेपालले कस्तो रणनीतिको अख्तियार गर्नुपर्ला त्यो अनुत्तरित छ । दक्षिण एसियाली मुलुकमा आपसी भाइचारा, सद्भाव र प्रेम बढाउन सागको परिकल्पना गरिए पनि बेलाबेलामा आउने यस्ता समस्याले सागको अस्तित्वलाई समेत सङ्कटमा पार्दै आएको छ ।

यतिबेला १३औँ साग हुन्छ कि हुँदैन व्यापक चर्चाको विषय बनेको छ । केहीलाई छोडेर खेलकुदका पदाधिकारीहरू नै यो विषयमा अन्योल छन् । उनीहरू हुन्छ र हुँदैन केही पनि भन्न नसक्ने अवस्थामा छन् । अन्तर्राष्ट्रिय दशरथ रंगशाला, पोखरा रंगशाला र सातदोबाटोको हिटिङ पौडीपोखरीको अवस्थालाई नजिकबाट नियाल्नेहरू नाक खुम्च्याइरहेका छन् । यसको मतलब उनीहरूले सागको सम्भावनालाई न्यून देखेका छन् । तर, बाध्यता छ, उनीहरूले उल्टै साग हुन्छ र, होला र, तपाईंलाई कस्तो लाग्छ ? भनेर प्रतिप्रश्न गर्ने गरेका छन् । यो असमन्जस्यताका बाबजुद पनि खेलाडी भने १३औँ साग हुने कुरामा ढुक्क छन् । उनीहरूले प्रशिक्षणमा आफ्नो पसिना बगाउन छोडेका छैनन् । यसरी खेलाडीका लागि १३औँ साग एउटा सुन्दर सपना र चासोको विषय बने पनि आमनागरिकको लागि सागको कुन चरीको नाम हो कुनै अत्तोपत्तो छैन । उनीहरूले सागको बारेमा प्रकट गरेको अनविज्ञता यसको प्रमाण हो । राष्ट्रिय पर्वको रूपमा रहेको १३औँ सागप्रति आमनागरिक अनभिज्ञ हुनुले कस्तो सङ्केत गर्छ त्यसको सही विश्लेषण सम्बन्धित निकायले गर्नुपर्ने भएको छ ।

सयम छोटो छ, मात्र तीन महिना । यो अवधिमा पनि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ साग तोकिएको समयमा हुन्छ यसको लागि आफूले जस्तोसुकै चुनौतीको पनि सामना गर्ने बताएका छन् । उनले चुनौती स्वीकार गरेरै खेलकुद क्षेत्र रोजेको भन्दै कुनै कारणले पनि १३औँ साग नरोकिने कुरामा ठोकुवा गरे । ‘चाइनिज टोली साउन ३० गते सातदोबाटोको खेलकुद पूर्वाधार र दशरथ रंगशालाको निरीक्षण गर्न आउँदै छ, सातदोबाटोको सुटिङ रेन्ज र पौडीपोखरी हस्तान्तरण गरेपछि १३औँ सागको माहोल बन्नेछ,’ सिलवालले भने । राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा सिलवालको कार्यदक्षताको प्रशंसा भए पनि सागबारे उनको विश्वासलाई अतिआत्मविश्वासीको संज्ञा दिइएको छ । अब सिलवाल आफ्नो अडानमा कति सफल हुन्छन् त्यो प्रतीक्षा गर्नु नै राम्रो होला । कोही त्यसै आत्मविश्वासी हुँदैन, उनीसँग कुनै त्यस्तो शक्ति होला जसले उनलाई यति आत्मविश्वास बनाएको छ । यतिबेला बजेटभन्दा पनि पूर्वाधार निर्माण सम्पन्नले अर्थ राख्ने हुँदा उनी यो कार्यमा कति सफल हुन्छन् र १३औँ सागसँगै आफूलाई पनि सफल बनाउँछन् त्यो नै सिलवालको प्रमुख चुनौती बनेको छ ।

१३औँ सागको सफल आयोजनाको लागि राज्य लाग्नुपर्छ । राज्य कसरी लागेको छ त्यसबाट अनभिज्ञ कोही छैन । यस्तो अवस्थामा भारत र पाकिस्तानबीच बढेको दूरीले १३औँ सागको आयोजनाप्रति अन्योल सिर्जना गरेको छ । एकातिर समयमै भौतिक पूर्वाधारको निर्माण सम्पन्न गर्नु छ भने अर्कोतर्फ सातै राष्ट्रलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने बाध्यता छ । यसरी अहिले नेपालसामु चुनौतीमाथि अर्को चुनौती थपिएको छ । यस्तो विषम परिस्थितिमा नेपालमा आयोजना हुन गइरहेको १३औँ साग अहिले कुहिरोमा हराएको कागजस्तै बनेको छ । हेरौं, समय थोरै छ, त्यो कुहिरोबाट १३औँ साग निस्कन सक्छ कि सक्दैन ?