दक्षिण भारतमा बाढीबाट २०९ को मृत्यु

दक्षिण भारतमा बाढीबाट २०९ को मृत्यु


भारतको दक्षिणी राज्य केरलाको कैयौँ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।

यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरि २ सय ९ व्यक्तिको मृत्यु भइसकेको छ । आगामी २४ देखि ४८ घन्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीले चेतावनी दिएका छन् । भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनीहरूको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो । ती व्यक्तिमा प्रायजसोलाई सरकारद्वारा सञ्चालित शरणार्थी शिविरमा लगिएको जनाइएको छ ।
केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब चार सय ५० व्यक्तिको मृत्यु भएको थियो ।
हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृत्यु हुनको साथै लाखौँ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।