केपी र वामदेवबीच कसिँदै सम्बन्ध, एक्लिँदै प्रचण्ड

केपी र वामदेवबीच कसिँदै सम्बन्ध, एक्लिँदै प्रचण्ड


अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुवै नेता विदेशबाट फर्किएपछि हिजो (२८ साउन मंगलबार) बस्ने भनिएको नेकपा शीर्षस्थ नेताहरूको बैठक लगातार स्थगित भइरहेको छ । नेकपाको साङ्गठनिक ढाँचालाई पूर्णता दिने उद्देश्यले हुन लागेको सचिवालय बैठक ‘होमवर्क’ पूरा नभएको भनी पर सरेको हो । सङ्गठन एकीकरणसँग सम्बन्धित भएकाले नेकपामा यो बैठकलाई गम्भीर रूपमा लिइएको छ । थाती रहेको स्कुल विभागदेखि केन्द्रीय सल्लाहकार समिति र राष्ट्रिय परिषद्सम्म सोही बैठकले तय गर्नेछ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर र अर्का अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणमा दुबई गएका थिए । प्रचण्डको भ्रमणलाई बाहिरी रूपमा पारिवारिक भनिए पनि भित्री तवरले चाहिँ व्यापार–व्यवसायसम्बद्ध रणनीतिक भ्रमणका रूपमा लिइएको छ । प्रचण्ड आफैँ राजनीतिबाहेक अर्को व्यवसाय गर्नुहुन्न, तर व्यवसायीहरूसँग उहाँको गहिरो निकटता छ ।

प्राप्त जानकारीअनुसार केन्द्रीय सल्लाहकार समिति २ सयदेखि २ सय २० जनासम्मको हुनेछ भने सल्लाहकार समिति करिब २ हजारको हुनेछ । नेताहरूको ‘इन्ट्रेस्ट’ र शक्ति टकरावका कारण थाती रहेको स्कुल विभागको नेतृत्व यसपटक टुंगो लाग्नेछ । स्कुल विभागमा पूर्वएमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र एमालेका तर्फबाट ईश्वर पोखरेलको नाम आएर दुवैले अडान लिएपछि निर्णय हुन सकेको थिएन ।

नेता झलनाथ खनालले पार्टीले दिए स्कुल विभाग म सम्हाल्छु भनेर सार्वजनिक रूपमा भन्दै आए पनि उक्त जिम्मेवारी झलनाथ खनालले पाउने अवस्था नरेहको बुझिएको छ । स्कुल विभागको प्रमुखमा दाबी गर्दै आउनुभएका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा ‘यो विभागका लागि म उपयुक्त छु, तर यदि मेरै कारणले गठनमा ढिलाइ भएको भए म बाधकचाहिँ बन्न चाहन्न’ भन्दै निर्णय लिन शीर्ष नेताहरूलाई सहज तुल्याइदिनुभएको बुझिएको छ । नेता नारायणकाजी यसरी पछि हटे पनि ईश्वर पाखरेलको नाममा पनि त्यति सजिलै सहमति हुन सक्ने देखिँदैन । पूर्वएमाओवादीहरूबाट ईश्वरको नाममा विरोध हुने निश्चित मानिएको छ । पोखरेलनिकट केन्द्रीय सदस्यका रूपमा चिनिने युवा नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत प्रचण्ड–प्रवृत्तिलाई खुइल्याउने जेहाद नै छेडेपछि ईश्वरप्रति प्रचण्ड थप बक्री बन्न पुग्नुभएको नेकपा सूत्र बताउँछ । यसरी अप्ठ्यारो परिस्थिति आएको खण्डमा अध्यक्षद्वय केपी ओली र प्रचण्ड दुवै स्कुल विभागको प्रमुखमा रहने सम्भावना बढेको स्रोतको दाबी छ ।

यसैबीच एक–अर्काबीच दूरीमा रहेका प्रधानमन्त्री केपी ओली र नेता वामदेव गौतमबीच फराकिँदै गएको दूरी एकाएक मेटिएर निकटता बढेको छ । वामदेवले केपीपछिको उत्तराधिकारीका रूपमा आफूलाई उभ्याउन केपीसँग सम्झौता गरेर अघि बढेको चर्चा पार्टीको उच्च तहमा छ । प्रचण्डसँग निकट वामदेव एकाएक केपीसँग नजिकिएपछि प्रचण्ड पार्टीमा एक्लिँदै गएका छन् । यसअघि प्रचण्ड र वामदेवबीच केपीका बारेमा व्यक्तिगत तहमै ओर्लिएर कुराकानी हुने गर्थ्यो । केपीको कामको मात्र होइन स्वास्थ्यको बारेमा समेत दुईजनाबीच व्यङ्ग्यात्मक कुराकानी हुने गर्थ्यो । तर, अहिले कास्कीमा रवीन्द्र अधिकारीको ठाउँमा वामदेवलाई उठाउने भएपछि केपी–वामदेव निकटता बढेको हो । यो निकटतालाई लिएर नेकपामा दुई कोणबाट चर्चा हुने गरेको छ, एक– केपीको समर्थन नपाई जित्न गाह्रो भएकाले वामदेव केपीसँग नजिक भएका हुन्, अर्को– केपीसँग नजिक भएर केपीपछि नेकपाको उत्तराधिकारीका रूपमा ठाउँ बनाउनका लागि वामदेवले आफ्नो विगतको सोचलाई सुझबुझका साथ परिवर्तन गरेका हुन् । यथार्थ जे भए पनि केपीसँग नजिकिएपछि वामदेव र प्रचण्डबीच चाहिँ दूरी बढेको छ ।

प्रचण्ड–वामदेव दूरी बढेसँगै पूर्वएमाले र एमाओवादीहरूबीच ‘हामी अलग्गै हौँ’ भन्ने भावना झन् बढेको छ । एमाले र एमाओवादी मिलेर नेकपा बने पनि पार्टीभित्र स्थानीयदेखि केन्द्रसम्म म एमाले म माओवादी भन्ने भावना कायमै थियो । पार्टी मिले पनि तलदेखि माथिसम्मकै नेता–कार्यकर्ताको मन भने मिलिसकेको छैन । प्रचण्ड–वामदेव एउटा उदाहरण बनेका थिए, तर अब त्यो पनि बाँकी रहेन । यसले नेकपामा ‘एमाले’ र ‘माओवादी’ भावना थप बढाउने देखिन्छ । औपचारिक रूपमा पार्टी एउटा भए पनि नेकपामा दुईवटा अभ्यास हुँदै आएको प्रस्टै छ ।

स्रोतका अनुसार उपनिर्वाचनका उम्मेदवार सचिवालय बैठकपछि बस्ने स्थायी समितिले तय गर्नेछ । तर, वामदेव कास्कीबाट उम्मेदवार बन्ने कुरा भने सचिवालय बैठकमै पनि आउन सक्छ । सचिवालयमा पार्टी अध्यक्षहरू केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल गरी नौजना नेता रहेका छन् ।

यसैबीच मन्त्रिमण्डलको पुनर्गठनमा केही समय लाग्ने देखिएको छ । सरकारलाई परिणाममुखी बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरूलाई हटाउन चाहनुभएको भए पनि अहिले तत्काललाई यो सम्भावना टरेर गएको छ ।