आफ्नै शरीरमा ‘क्लाइमेट चेन्ज’ भएपछि

आफ्नै शरीरमा ‘क्लाइमेट चेन्ज’ भएपछि


■ बबिता बस्नेत

गत वर्ष जाडो महिनाको मध्यरातमा एक्कासि झसङ्ग ब्युँझिँदा शरीर तातो भएर खलखली पसिना आइरहेको थियो । ल…के भयो मलाई ? यस्तो जाडोमा पसिना आइरा’छ भन्ने लाग्यो । एकैछिनपछि शरीर पूरै चिसो भयो । त्यसपछि राति एक्कासि ब्युँझिने, दिन होस् या रात जतिबेला पनि शरीर घरी तातो घरी चिसो हुन थाल्यो । विश्वमा जलवायु परिवर्तनको कुरा व्यापक रूपमा उठिरहेको बेला आफ्नै शरीरमा ‘क्लाइमेट चेन्ज’ भएको महसुस भइरहेको थियो ।

प्रकृति र मानिसको शरीरबीच धेरै समानता छ । प्रकृतिमा जे छ, शरीरमा पनि तिनै तत्वहरू छन्, शरीर पञ्चतत्वले बनेको हुन्छ भनिन्छ– पृथ्वी, आकाश, जल, वायु र अग्नि । शरीरमा फरकपन महसुस भएपछि शरीर र प्रकृतिबीच तुलना गर्न थप सहज त भयो, तर आफ्नो परिस्थिति भने झनै असहज बन्दै गयो । राति निद्रा नलाग्ने, पैताला तातो हुने, खलखली पसिना आउने, कोही मान्छे बोलेको सुन्दा कति बोलेको होला जस्तो लाग्ने । उठिरहेको बेला बसुँजस्तो लाग्ने, बसिरहँदा उभिन मन लाग्ने, एकप्रकारको छटपटी, ‘इरिटेसन’ । मानिसको भिडमा एक्लैजस्तो, एक्लै हुँदा भिडभाडमै छु जस्तो ।

एकैछिनअघि दङ्ग परेर हाँसिरहेको मान्छे एकैछिनमा दुःखीजस्तो महसुस हुने, सम्झ्यो दुःखी र खुसी दुवै हुनुपर्ने कारण खासै केही छैन, जिन्दगी असहज बन्नुपर्ने केही देखिँदैन । के भइरा’छ मलाई ? आफूले आफैँलाई धेरैपल्ट प्रश्न गरेपछि साथीहरूसँग कुरा गरेँ । अनुभवीहरूले भने- ए तिम्रो त मेनोपोज सुरु भएछ, प्रिमेनोपोज (नछुने रोकिने प्रक्रियाको शुरुवात) मा यस्तै हुन्छ । गुगल सर्च गर्दा मेनोपोजका सबै लक्षणहरू मिलेपछि डाक्टरकहाँ गएँ । कुरा सुनिसकेपछि डाक्टरले भनिन्, ‘तपाईंलाई त गाह्रो मात्रै भा’छ, मेरो नर्सले त डिप्रेसनको औषधि खाइरा’छिन, सी इज ह्याभिङ सो डिफिकल्ट टाइम ।’ डाक्टरका अनुसार तीन महिनादेखि तीन वर्षसम्म मेनोपोजको असर रहने गर्दछ । कसैलाई बढी कसैलाई कम हुन्छ । त्यस्तो बेलामा डाक्टरको सल्लाहमा हर्मोन खानुपर्छ । प्रक्रियाका क्रममा र पछि हड्डी खिइनेलगायतका कुराहरू हुने हुँदा क्याल्सियम र भिटामिनहरू खानुपर्ने रहेछ । कति सिनियर महिलाको ढाड बाङ्गिने, घुँडा दुख्नेलगायतका समस्या मेनोपोजका बेला उचित खानपान नपुगेर हुने गर्छ । त्यस्तो बेलामा शारीरिक अभ्यास, योगा, मेडिटेसन गर्नुपर्ने रहेछ ।

शरीरमा हरमोनको तलमाथि हुँदा के–के हुन्छ र महिलाको मेनोपोज अर्थात् नछुने रोकिने प्रक्रिया कति गाह्रो हो भन्ने बुझेपछि के यो सबै महिलालाई हुने कुरा हो ? भन्ने प्रश्नले मनमा ठाउँ लियो । उमेरले आफूभन्दा सिनियर एक सांसदज्युलाई सोधेँ– हजुरलाई मेनोपोजमा गाह्रो भएन ? उहाँले भन्नुभो, अँ हँ मलाई त केही भएन, थाहै पाइनँ । तर अरू केही सांसदहरूले आफूलाई गाह्रो भएको, केही महिना सुत्न नसकेकोलगायतका अनुभव सुनाउनुभो । सोही प्रक्रिया भोगिरहनुभएकी एक सांसदले ल… मलाई भइरहेको कुरा तपाईंले कसरी थाहा पाउनुभो ? भन्नुभयो । यसबीचमा सिनियर कर्मचारी, राजनीतिकर्मी, अधिवक्ता, वैदेशिक रोजगारबाट फर्किएका महिलाहरू, डाक्टर, इन्जिनियर, पूर्वमन्त्रीहरू, गृहिणी धेरैसँग कुरा गरेँ । जुनसुकै ओहोदामा पुगेका या गृह व्यवस्थापन गरिरहेका जो भए पनि प्राकृतिक कुरा भएरै छाड्थ्यो ।

माघ महिनाको काठमाडौंको एक दिन मिटिङमा रहेको बेला मेरो मुहारमा पसिना देखेर एकजना पूर्वसचिवले ‘ल.. तपाईंलाई के भयो ? कस्तो पसिना आ’को ?’ भन्नुभयो । थरथरी काम्ने जाडोमा खलखली पसिना आउँदा अनौठो लाग्नु स्वाभाविक थियो । तर, मैले सचिवज्यूलाई नेपालीमा त के अङ्ग्रेजीमा ‘आइएम गोइङ थ्रु मेनोपोज हजुर’ भन्न सकिनँ ।

भेटघाट र कुराकानीबाट थाहा भयो, यसप्रकारको गाह्रो परिस्थिति सबैलाई होइन, तर धेरै महिलालाई हुने रहेछ । कसैलाई थोरै, कसैलाई धेरै, कतिलाई शारीरिक रूपले बढी गाह्रो, कसैलाई मानसिक रूपले गाह्रो । कतिलाई तीन–चार महिनामा नछुने हुँदा धेरै रगत जाने र कतिलाई १५ दिनमै हुने । कति महिला ओभर ब्लिडिङका कारण बाथरुममै लडेका पनि रहेछन् । ओमशान्तिमा संलग्न एकजना दिदी ओभर ब्लिडिङका कारण बाथरुममा लडेपछि अस्पताल पुऱ्याएको अनुभव एक पत्रकार बैनीले सुनाइन् । कति महिलाहरू चाहिँ ‘एक्कासी के लाग्यो’ भनेर धामी–झाँक्रीकहाँ देखाउन पनि जाँदा रहेछन् ।

विभिन्न क्षेत्र, पेसा, व्यवसायमा रहेका महिलाबीच गरिएको यो सानो अनौपचारिक रिसर्चपछि थाहा भयो– कति महिला यो विषयमा सार्वजनिक रूपमा बोल्नै चाहँदैन रहेछन् । कतिको बोल्ने ठाउँ छैन, कतिलाई अनुभव त छ, तर लेख्न सक्दैनन्, कतिचाहिँ लेख्न, बोल्न सके पनि आ… मेरो महिनावारी रोकिने प्रक्रिया शुरु भयो या रोकियो भनेर दुनियाँलाई किन जानकारी दिऊँ ? भन्ने ठान्दा रहेछन् । कतिले मेनोपोज भयो भन्नुको अर्थ त अब बूढो भइयो भन्ने हो, म आफू बूढो भएँ है भन्दै किन हिँडुँ ? भनी सोच्दारहेछन् ।

मानिस जन्मिएपछि मर्छ भन्ने सबैलाई थाहा छ, तर वृद्ध हुने कुरा त मानिसले आत्मसात् गर्न सक्दैन भने मृत्युलाई कसरी स्वीकार गर्न सक्छ जस्तो पनि लाग्यो । बाँचिरह्यौँ भने हामी सबै नै वृद्ध हुन्छौँ, बच्चादेखि युवा हुँदै अधबैंसे र वृद्ध हुनु सबै प्राकृतिक प्रक्रिया हो । वृद्ध भएको सङ्केतमै कसैले आफूप्रति फरक व्यवहार गर्छ भने साँच्चिकै वृद्ध भएपछि के गर्ला त भनेर मानिसहरू किन सोच्दैनन् ? भन्ने कुराले पनि निकैबेर मनमा ठाउँ लियो । यदि कोही वृद्ध भए नै पनि के फरक पर्छ ? कसैले भनेर या ठानेर पनि के हुन्छ ? यो त प्राकृतिक कुरा हो, समय अघिपछि होला, तर हरेक मानिस वृद्ध हुन्छन् । महिनावारी रोकिएपछि बूढो भएँ या उमेर ढल्कियो भन्ने ठान्नु महिलाको प्रजनन भूमिकालाई मात्रै महत्व दिनु हो । प्रजनन भूमिका ननिभाउँदा पुरुषले खुम्चिनुपरेको छैन, महिलाले चाहिँ आफूले आफैंलाई किन खुम्च्याउनुपऱ्यो ? जस्तो पनि लाग्यो ।

शारीरिक, मनोवैज्ञानिक विभिन्न कारणले यसप्रकारको सकसमा पनि महिला नबोल्ने रहेछन् । जानेको, भोगेको कुरा त अरूलाई जानकारी दिनुपर्छ भन्ने लाग्दालाग्दै पनि कतिपय अवस्थामा आफूलाई यस्तो भइरहेको छ भन्नचाहिँ गाह्रै हुने रहेछ । माघ महिनाको काठमाडौंको एक दिन मिटिङमा रहेको बेला मेरो मुहारमा पसिना देखेर एकजना पूर्वसचिवले ‘ल.. तपाईंलाई के भयो ? कस्तो पसिना आ’को ?’ भन्नुभयो । थरथरी काम्ने जाडोमा खलखली पसिना आउँदा अनौठो लाग्नु स्वाभाविक थियो । तर, मैले सचिवज्यूलाई नेपालीमा त के अङ्ग्रेजीमा ‘आइएम गोइङ थ्रु मेनोपोज हजुर’ भन्न सकिनँ । राति निद्रा नलाग्दा के अर्थ लाउने हुन् भनेर घरपरिवारमा बाहेक वरिपरिका निकटवर्तीहरूलाई समेत मलाई निद्रामा समस्या आइरहेको छ भनिनँ ।

राति १० बजेदेखि ६ बजेसम्म निर्धक्क सुत्ने मान्छे, राम्ररी आँखै नजोडिई तीन महिना बितेर गए । तीन महिनापछि निद्रा नलाग्ने समस्या आफैँ हराएर गयो । राति दुई बजेतिर अनलाइन देखेर छोराले भाइबरमा ‘मामु, हजुर रातिसम्म बसेर त्यसरी काम नगर त, जतिबेला पनि काम गर्न जरुरी छैन, आफूलाई दुःख नदेऊ’ भनेर म्यासेज लेख्यो । भोलिपल्ट आफ्नो कुरा बताएपछि ल अब हजुरलाई मुड स्विङ (मुड परिवर्तन हुने) हुन्छ, आफूलाई केयर गर भन्यो । अहिलेका बच्चाहरूलाई थाहा छ, तर हामीले त आफ्नी आमालाई कहिले मेनोपोज भयो, उहाँमाथि के–के गुज्रियो थाहासम्म पनि पाएनौँ जस्तो लाग्यो ।

मेनोपोज कसैलाई चाँडो र कसैलाई ढिलो हुने रहेछ । सामान्यतयाः ४५ वर्ष पुगेपछि हुने भए पनि कतिलाई ४० वर्षपछि नै पनि हुने रहेछ, कतिलाई ५५ वर्षमा भएको पनि पाइयो । पाठेघर निकालेका महिलाको भने पाठेघर निकालेदेखि नै हर्मोनवाला समस्या देखिने रहेछ । कुराकानीको क्रममा यस्तो बेलामा धेरैले असुरक्षित महसुस गरेको पाएँ । विशेषगरी पति–पत्नी सम्बन्धको सवालमा धेरैलाई अब पतिको अरू कसैसँग सम्बन्ध गाँसिने हो कि भन्ने त्रास हुँदो रहेछ । यो बेलामा पति साथमा भएका महिलाहरूभन्दा एकल महिलाहरूले बढी सुरक्षित महसुस गरेको देखियो ।

थप पीडा त उनलाई त्यतिबेला भएछ जब च्याट मित्रले ‘महिलाहरूलाई त के हो यस्तो, नछुने हुँदा पनि गाह्रो, नहुँदा पनि गाह्रो अचम्मै हुँदो रहेछ, जे बोले पनि पनि नेगेटिभ रूपमा लिने, म त वाक्कै भइसकेँ’ भनेछन् । त्यस दिन उनलाई आफ्ना पति पनि अर्को कोठामा अरू कसैलाई आफ्नोबारेमा यसै भनिरहेका होलान् जस्तो लाग्यो रे । त्यस दिनदेखि उनी अनलाइन बस्न छोडिछिन् ।

यसैक्रममा एक उच्च शिक्षित गृहणीको अनुभव ‘इन्ट्रेस्टिङ’ लाग्यो । राति ओछ्यानमा छटपटी हुन थालेपछि पति अर्कै कोठामा सुत्न थालेछन् । उनलाई निद्रा नआउने, के गरूँ–गरूँ भएर फेसबुक चलाएर बस्दा आफ्नै पतिका साथीसँग रात-रातभर कुरा हुन थालेछ, जसकी पत्नी कामकाजी महिला रहिछिन् । कुरैकुरामा एक रात तिनले आफ्नी श्रीमतीका बारेमा कुरा गर्दै ऊ त दिनभरि व्यस्त, राति भएपछि गाह्रो भयो भन्ने, पल्लो कोठामा सुतेकी छ भनेछन् । थप पीडा त उनलाई त्यतिबेला भएछ जब च्याट मित्रले ‘महिलाहरूलाई त के हो यस्तो, नछुने हुँदा पनि गाह्रो, नहुँदा पनि गाह्रो अचम्मै हुँदो रहेछ, जे बोले पनि पनि नेगेटिभ रूपमा लिने, म त वाक्कै भइसकेँ’ भनेछन् । त्यस दिन उनलाई आफ्ना पति पनि अर्को कोठामा अरू कसैलाई आफ्नोबारेमा यसै भनिरहेका होलान् जस्तो लाग्यो रे । त्यस दिनदेखि उनी अनलाइन बस्न छोडिछिन् ।

यस्तो बेलामा महिलालाई प्रेसर, सुगरलगायतका रोगहरू पनि देखिने हुँदा सकेसम्म तनाव नलिनु भनिँदोरहेछ । हर्मोनको तलमाथि महिलालाई मात्र होइन, पुरुषलाई पनि हुने रहेछ । तर, महिलाको महिनावारी प्रक्रियासँग सम्बन्धित हुने हुँदा प्रस्ट महसुस भए पनि पुरुषको भने कहिलेदेखि भयो या भइरहेको छ थाहा नहुने रहेछ । पुरुषहरूलाई पनि शारीरिक छटपटी हुने, मानसिक थकान र तनाव हुने, मुड परिवर्तन (मुडस्विङ) हुने, इरिटेसन हुने, शक्ति र उत्साहमा कमी आउने, निदाउन गाह्रो हुने (निद्रा नपर्ने), कुनै पनि कुरामा ध्यान केन्द्रित नहुनेलगायतका लक्षणहरू उक्त उमेरमा देखापर्ने रहेछन्, जसलाई एन्ड्रोपोज भनिँदो रहेछ । तर, हामीकहाँ मेनोपोजकै चर्चा खासै नभइरहेको बेला एन्ड्रोपोजको चर्चा हुने गरेको छैन ।

पञ्चतत्व महिला–पुरुष दुवैको शरीरमा हुने हुँदा त्यसमा उत्पन्न हुने असन्तुलनले शारीरिक र मानसिक क्रियाकलापमा प्रभाव पार्नु स्वाभाविक हुन्छ । पुरुषका लागि पनि यो संवेदनशील समय हो । तर, यो के भएको हो भन्ने थाहा पाउनु भने जरुरी हुन्छ । महिलाको महिनावारी सुरु हुने प्रक्रिया जति पीडादायी हुन्छ त्यो भन्दा कैयौँ गुणा बढी सकसपूर्ण महिनावारी रोकिने प्रक्रिया हुने रहेछ । आफूलाई के भएको हो भन्ने थाहा नपाउँदै कति आमा, हजुरआमाहरूले यो संसार छोडेर गए । यो अवस्थामा भएको आफ्नो छटपटी र दुःख सुनाउन मन भए पनि माध्यम र वातावरण नहुँदा कतिले सुनाउन पाएनन् होला । प्रकृतिले को माननीय, को वरिष्ठ, को शिक्षित, को अशिक्षित, धनी, गरिब, शहर, गाउँ, झुपडी, महल जहाँ बसे पनि, ओहोदा जे भए पनि सबैलाई समान व्यवहार गर्ने हुँदा यो कुरा सबैले थाहा पाउनु आवश्यक छ । कम्तीमा हाम्रो पुस्ताले यो जटिल प्रक्रियालाई सरल रूपमा अरूलाई बुझाउन सक्नुपर्छ । ता कि सम्बन्धित व्यक्ति स्वयमले आफूलाई मानसिक रूपमा तयार राख्न सकून्, समयमै सचेतता अपनाई आफूलाई केयर गर्न सकून् ।