भारतबाट एक वर्षमा ३८ अर्बको विद्युत आयात

भारतबाट एक वर्षमा ३८ अर्बको विद्युत आयात


आर्थिक बर्ष २०७५/७६ मा नेपाल विद्युत प्राधिकरणले करिब ३८ अर्ब रुपैयाँको विद्युत आयात गरेको हो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा १३ प्रतिशतले बढि हो ।

प्राधिकरणले नेपालको आन्तरिक माग धान्न भारतबाट ५ अर्ब ३० लाख युनिट विद्युत खरिद गरेको हो । यो आन्तरिक (निजी क्षेत्र) र बाह्य (भारत) बाट समेत हो ।

प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षमा भारतबाट करिब २३ अर्ब रुपैयाँको २ अर्ब ८० करोड युनिट विद्युत खरिद गरिएको थियो । ‘यो वर्ष प्राधिकरणले भारतबाट औसत प्रतियुनिट ८.१८ रुपैयाँमा विद्युत किनेको छ । जुन अघिल्लो आवभन्दा ३ सय १८ गिगावाट घन्टा (१२.८१ प्रतिशत) बढी हो ।’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अघिल्लो आर्थिक बर्षमा भारतबाट करिब २४ सय ८२ गिगावाट घन्टा (२ अर्ब ४८ करोड २० लाख युनिट) किनिएको थियो ।’

यसबापत भारतलाई १९ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । विद्युत किनेबापत अघिल्लो आवको तुलनामा गत आवमा भारतलाई ३ अर्ब ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको छ ।

यस्तै, आन्तरिक अर्थात् निजी क्षेत्रबाट गत आवमा २ अर्ब २० करोड युनिट (२२०० गिगावाट घन्टा) विद्युत किनिएको छ । प्रतियुनिट औसत ६.६४ रुपैयाँका दरले निजी क्षेत्रलाई कूल १४ अर्ब ६० करोड ८० लाख रुपैयाँ भुक्तानी गरिएको छ । प्राधिकरणका विद्युतगृहबाट गत आवमा करिब २ अर्ब ४४ करोड ८० लाख युनिट (२४४८ गिगावाट घन्टा) विद्युत उत्पादन भएको छ । यो अघिल्लो आव (२०७४÷७५) मा २ अर्ब ३० करोड ८० लाख युनिट (२३०८ गिगावाट घन्टा) उत्पादन भएको थियो ।

प्राधिकरणले भारतबाट आयातित र निजी क्षेत्रलाई गरी कूल विद्युत खरिदमा करिब ३७ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणको प्रणालीमा अघिल्लो आवको तुलनामा गत आवमा ३९ करोड युनिट विद्युत बढी उपलब्ध भएको जनाइएको छ । अघिल्लो आवमा ७ अर्ब ५ करोड ८० लाख युनिट प्रणालीमा उपलब्ध भएकोमा गत आवमा ७ अर्ब ४४ करोड ८० लाख युनिट प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ ।