झापामा चन्द समूहका १७ कार्यकर्ता पक्राउ

झापामा चन्द समूहका १७ कार्यकर्ता पक्राउ


झापामा नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विस्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

सोमबार बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९)मा समेत बम विस्फोट भएको छ । विस्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विस्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए । मैनालीका अनुसार वडा कार्यालयमा बम विस्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसरकुकर बम विस्फोटका कारण वडाको सम्पूर्ण काम पूर्ण रूपमा प्रभावित भएको छ ।