तीन लाख घुससहित वन अधिकृत पक्राउ

तीन लाख घुससहित वन अधिकृत पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख रुपैयाँ घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सबडिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अधिकृत डीसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो ।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डीसीबाट रु. तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डीसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए । उनले भने, ‘अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ ।’ अख्तियारको टोलीले रु. तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डीसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका डीसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।