क्रसकन्ट्रीमा नेपाली धावक निमेषले जिते दोश्रो स्वर्ण

क्रसकन्ट्रीमा नेपाली धावक निमेषले जिते दोश्रो स्वर्ण


चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा स्वर्ण जितेका हुन् । उनले भारत र चीनका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन् । भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात पारे ।

यसअघि निमेषले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए । अब उनले अगस्ट १८ मा ट्र्याक एन्ड फिल्ड अन्तर्गत १० हजार मिटर दौडनमा प्रतिस्पर्धा गर्न बाँकी छ ।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो । प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा हुन्छ ।

एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

संखुवासभामा जन्मिएका निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन् । सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए ।

सिंगापुमार हुने स्थानीय प्रतियोगितमा प्रत्येक साता जस्तो पुरस्कार जित्ने निमेषले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन् ।