मुक्तिनाथमा यार्तुङको रौनक

मुक्तिनाथमा यार्तुङको रौनक


प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि यार्तुङ महोत्सव शुरु हुँदैछ । चार दिनसम्म चल्ने उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा उक्त महोत्सव हुन लागेको हो । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

हिमाली संस्कृतिको जीवन्तता तथा यस क्षेत्रको पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले बताउनुभयो । महोत्सवमा याक सवारी, घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगितालगायत कार्यक्रम हुने छन् । गाउँपालिकाका १९ गाउँको परम्परागत वेषभूषा प्रदर्शनका साथै यहाँको विविध संस्कृति प्रदर्शन गरिनेछ । महोत्सवको झण्डै १० हजार व्यक्तिले अवलोकन गर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

हिमाली क्षेत्र र यहाँको प्राचिन संस्कृति पर्यटकीय विकासको महत्वपूर्ण आधार भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए । हिमाली क्षेत्रमा वर्खायामको अन्त्य भई हिउँद याम शुरु हुने समयलाई यार्तुङ पर्वका रुपमा मनाइने गरिन्छ । यार्तुङका अवसरमा विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने चलन छ । यार्तुङमा नयाँ लुगा लगाउने परम्परा छ ।