कांग्रेसले भदौ २० भित्रै अन्तरिम संरचना बनाइसक्ने

कांग्रेसले भदौ २० भित्रै अन्तरिम संरचना बनाइसक्ने


नेपाली कांग्रेसले भदौ २० भित्रै सहमतिकै आधारमा अन्तरिम संरचना बनाइसक्ने भएको छ ।

नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो । बैठक आज बसेको हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो ।

यस्तो छ बैठकका निर्णयहरु

१. नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं. १ को खुला वडा सदस्य पदमा निर्वाचित श्री बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ ।

२. इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ ।

३. विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनु भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ ।

४. सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ ।

कांग्रेसका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्ने छ ।