राखेप कर्मचारीको ‘सेटिङ’ महालेखादेखि अख्तियारसम्म रहेको मन्त्रीको आरोप

राखेप कर्मचारीको ‘सेटिङ’ महालेखादेखि अख्तियारसम्म रहेको मन्त्रीको आरोप


■ श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषदका कर्मचारीको महालेखादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म ‘सेटिङ’ भएको खुलासा गरेका छन् । राखेपले आइतबार (२६ साउन) आयोजना गरेको आर्थिक वर्ष ०७६–०७७ को खेलकुद, भौतिक पूर्वाधार तथा योजनासम्बन्धी गोष्ठीको अवसरमा मन्त्री विश्वकर्माले यस्तो दाबी गरेका हुन् ।

राखेपका कर्मचारीको सेटिङको पर्दाफास गर्दै खेलकुद मन्त्री विश्वकर्माले भने– ‘खेलकुद सबै सेटिङमा चलिरहेको छ, यस्तो कार्यले खेलकुदमा नकारात्मक प्रभाव परेको र आर्थिक चलखेल निकै बढेको छ । तसर्थ, अहिलेसम्म जे भयो भयो अबदेखि यस्तो नगर्न र पारदर्शी रुपमा कार्य गर्न म सरोकारवाला सबैलाई सुझाव दिन चाहन्छु ।’

महालेखा परीक्षक दामोदर पुडासैनीसमेत अतिथिको रूपमा उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले अगाडि भने– ‘खेलकुदका कर्मचारीले राम्रो काम गरे पनि सेटिङकै कारण बदनाम भएको जानकारी मलाई प्राप्त भएको छ ।’

यसरी राखेपका कर्मचारीले महालेखा र अख्तियारसँग सेटिङ भएको मन्त्रीले बताए पनि युवा तथा खेलकुद मन्त्रालयसँग भएको सेटिङको बारेमा चाहिँ उनले केही बताएनन् । मन्त्री विश्वकर्माले आफूलाई दुधले नुहाएको व्यक्तिको रुपमा प्रस्तुत गरेको छनक मिले पनि उनी कति पानीमा छन्, राखेपका कर्मचारी, पदाधिकारी र ठेकेदारहरूलाई यसबारे राम्रोसँग थाहा छ भन्ने चर्चा परिषदमा व्यापक सुनिन्छ ।

सोही अवसरमा राखेपका कर्मचारीहरूको बारेमा ‘चिन्ता’ प्रकट गर्दै मन्त्री विश्वकर्माले भने– ‘राखेपमा एक हजार जनाको दरबन्दी छ, तर अहिलेसम्म विभिन्न कारणले उक्त दरबन्दीले पूर्णता पाएको छैन । मन्त्रालयले दरबन्दीलाई पूर्णता दिने निर्णय गरेर कार्य अगाडि बढाएको छ ।’

मन्त्री विश्वकर्माका अनुसार केही समयपछि नै राखेपमा एक हजार जनाको दरबन्दी पूर्ण हुने छ ।