म्यानमारमा पहिरोमा परी ४८ को मृत्यु

म्यानमारमा पहिरोमा परी ४८ को मृत्यु


म्यानमारमा बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढीपहिरोमा परेकाहरूको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

म्यानमारसहितका दक्षिण एसियाली मुलुकमा बाढीपहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ विस्थापित हुने गरेका छन् । तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ । बाढीपहिरोमा परी बेपत्ता भएकाको खोजी तथा उद्धारकार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

‘अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढीपहिरोमा परेकाको खोजीकार्य अझै पनि जारी छ,’ पाउङ नगरका प्रशासक जाव मोए औङले बताए । पहिरोका कारण रेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ ।

सेना र प्रहरीसमेतका सुरक्षाकर्मी प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन् । प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पु¥याउन हेलिकोप्टरको समेत प्रयोग गरिएको छ । त्यस क्षेत्रमा बाढीपहिरोले झन्डै चार हजार घर प्रभावित भएका छन् । त्यस ठाउँबाट झन्डै २५ हजार विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी शिविरमा राखिएको छ ।
स्थानीय समयअनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो ।