नेपाल चिनाउन जापानमा महोत्सव गरिने

नेपाल चिनाउन जापानमा महोत्सव गरिने


■ श्याम क्षेत्री, टोकियो

नेपाली साझा समाज जापानको आयोजना तथा गुम्बाकेनको ओइजुमी माची (ओइजुमी नगर कार्याल)को सहआयोजनामा आगामी सेप्टेम्बर २८ र २९ तारिखमा दुई दिवसीय ‘नेपाली फेस्टिबल २०१९, गुम्बा जापान’ आयोजना हुने भएको छ ।

नेपाली कला संस्कृतिको प्रचारप्रसार गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नेपाली साझा समाजले जनाएको छ ।

लामो समय जापान बस्दा धेरै जापानी साथीभाइ भए, तर कैयन जापानी साथीलाई नेपाल र नेपालीको बारेमा कुनै जानकारी नभएका पाएँ । ती र त्यस्ता साथीहरुलाई नेपाल, नेपाली भाषा तथा कला संस्कृतिको बारेमा जानकारी गराउन फेस्टिबल उपयुक्त माध्यम हुने ठानेर आयोजना गर्न लागिएको नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धिबहादुर शेरचनले प्रष्ट्याउनुभयो ।

दुई दिन सञ्चालन हुने फेस्टिभलमा नेपाली पर्यटनसँग सम्बन्धित विभिन्न जानकारी प्रदान गरिनुका साथै नेपाली खाना, संस्कृति, भेषभुषा, गरगहना, बाजागाजा र केही पुराना परम्परालाई प्रदर्शन गरिने छ । नेपाली तथा जापानी कलाकारहरुको सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत प्रदर्शन हुने छ ।

जापानका ठूला शहरहरुमा विभिन्न नेपाली कार्यक्रम आयोजना हुने गरे पनि गुम्बा केनमा भने यो पहिलो कार्यक्रम हुनेछ । यो कार्यक्रम जापानको सरकारी कार्यालय (स्थानीय निकाय) सहआयोजक भई आयोजना भएको पहिलो कार्यक्रम पनि हो ।यस कार्यक्रमले जापानी तथा जापानमा रहेका अन्य देशका नागरिकहरुलाई नेपालको बारेमा जानकारी गराउन सहयोग गर्ने छ ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि जापानमा रहेका विभिन्न संघसंस्था, उद्योगी व्यापारी तथा सम्पूर्णलाई सल्लाह, सुझाव, सहयोग र सहभागिताको आह्वान गरिएको छ ।