अशोक शर्मा भन्छन्- ‘अब बाँचे पनि यहीँ मरे पनि यहीँ’

अशोक शर्मा भन्छन्- ‘अब बाँचे पनि यहीँ मरे पनि यहीँ’


■ राजन घिमिरे

कलाकारिताको यात्रामा कहिल्यै थाकेनन् अशोक शर्मा । उरन्ठेउलो उमेरदेखि कलाकारितामा होमिएका शर्मा आज आनन्दले परिवारसँग रिटार्यड जीवन जिउनुपर्ने उमेरमा पुग्दा पनि भर्खर फिल्मी संसारमा प्रवेश गरेका आजका उरन्ठेउला उमेरका चलचित्रकर्मीहरूसँग काँधमा कांँध मिलाएर लागिपरेका छन् ।

आजकाहरूसँग सोध्न मन लागेको छ– ‘के शर्माजस्तै लामो यात्रा तय गर्न सक्छौ त ? कि च्याँखे थाप्न मात्र आएका हौ ?’ च्याँखे थाप्न आएकाहरू त च्याँखे पऱ्यो भने दङ्ग पर्छन् र परेन भने खेलाउनेलाई नै गाली गर्दै हिँड्न सक्छन् । तर, शर्माले कसलाई गाली गर्ने ? किनकि उनको त यो बाहेक न जाने अरू क्षेत्र छ न त ओत लाग्ने अर्कों पेशा या विधा नै !

कलाकारिताको यात्रामा उनको अगाडि धन कमाउने थुप्रै अवसर र बाटाहरू पनि नआएका होइनन्, तर कलाकारिता क्षेत्रलाई नै उनले आफ्नो उद्देश्य र जीवन ठाने अनि यसमै होमिइरहे । नाटकदेखि भिडियो चलचित्र र टेलिचलचित्र हुँदै ठूलो पर्दाको चलचित्रसम्मको यात्रलाई उनले निरन्तर रूपमा अगाडि बढाइरहे ।

‘कुनै समय यो विधामा रहरले लागियो होला तर पछि त्यो रहर नै पेशा बन्यो । जीवनमा यही सिकियो, यही जानियो र यही गरियो । अरू बारेमा त न सोच्न समय भयो न त जान्ने समय नै’, शर्माले विगत सम्झिए ।


नेपाली चलचित्र निर्माण र लगानीको विधालाई नाफामूलक ब्यावसायिक शिखरमा चढाउने मामिलामा शर्माको सहभागिता र योगदानलाई कम आँक्न गर्न मिल्दैन । भिडियो चलचित्र मात्र चलाएर दिन कटाइरहेका काठमाडौका हाइभिजन हलहरूमा पहिलोपटक ठुलो पर्दाको चलचित्र देखाएर शर्माले शुरूवात गरेको ब्यावसायिक क्रान्तिको आज पनि वाहवाही हुने गरेको छ । शर्माको यो सोचबाट पछि धेरै निर्माताहरूको लगानी बचेको थियो ।

कहिले कलाकार त कहिले निर्माता अनि कहिले वितरक त कहिले प्रदर्शक र विविध क्षेत्रमा आफ्नो उपस्थिति जनाएका शर्मा चलचित्रको निर्देशकसमेत बन्दै यो क्षेत्रमा आवद्ध भइ नै रहे । चलचित्रकर्मको यात्रामा थाक्ने, अल्छी हुने र विश्राम गर्ने सोच र योजना उनमा कहिल्यै देखिएन । उनी भन्छन्– ‘अहिले म मेरो परिवारको दोस्रो पुस्तालाई यो क्षेत्रमा ल्याइरहेको छु । चलचित्रकर्ममा लाग्दा मेरो विवाह भएको थिएन, आज मेरो छोरो सिनेमाको हिरो भएको छ । यो लामो यात्रा साँच्चै रमाइलो पनि लागेर आएको छ । मेरो लागि यो गौरवको कुरा पनि हो’– शर्माले भने ।

अहिले रातो टीका निधारमाको निर्माण कार्य पूरा गरेका छन् शर्माले । यसै चलचित्रमार्फत छोरा अंकित शर्मालाई हिरोको रूपमा उतारेका छन् उनले । पहिलो चलचित्रमा पनि राम्रै सम्भावना देखाएका छन् अंकितले पनि । यो चलचित्र आगामी दशैँमा सार्वजनिक हुने भएको छ ।

तीस वर्षभन्दा माथि एउटै क्षेत्रमा लाग्दा अशोक शर्माको जीवनमा पनि धेरै उतारचढावहरू आए होलान् । कहिलेकाहीँ यो क्षेत्रबाटै अलग्गिने सोच पनि आयो होला । तर, कतै कुनै पनि अवस्थामा पलायन नै हुने गरी अत्तालिएनन् उनी । लागि नै रहे, लागि नै रहे । यही क्षेत्रबाट नाम पनि कमाए दाम पनि कमाए । जे–जति कमाए यसै क्षेत्रमा लगानी गरे र, अझै गर्दै छन् । कलाकारितालाई अवसर र च्याँखेको रूपमा मात्र कहिले हेरेनन् उनले । कर्म गर्दै गए र धेरै–थोरै फल पनि खाँदै आए । ‘अब यो क्षेत्रबाहेक अर्कों कुन क्षेत्रमा जान सक्छु र ? अब बाँचे पनि यहीँ र मरे पनि यहीँ !’ दृढ लवजमा शर्माले सुनाए ।