अवैध रूपमा अमेरिकामा बसोवास गर्ने १२२ मेक्सिकन पक्राउ

अवैध रूपमा अमेरिकामा बसोवास गर्ने १२२ मेक्सिकन पक्राउ


अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२ जना मेक्सिकन पक्राउ परेका छन् । मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ ।

उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरूमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रूपमा काम गरिरहेका आप्रवासीहरूलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ ।

मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसिपीमा पक्राउ परेका जानकारी दिएका थिए । तर, बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराएका हुन् ।

अमेरिकामा बुधबार मात्र वैधानिक कागजबिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो । तीमध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन् । ंविदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरू उपलब्ध गराइएको जानकारी पनि दिएको छ ।

अमेरिकाका खाद्यान्न केन्द्रहरूमा कार्यरत मेक्सिकन नागरिकमध्ये अमेरिकाले पहिलोपटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उनले बताएको समाचारमा जनाइएको छ । पक्राउ परेकाहरू अमेरिकामा बिनाकागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ । तर, उनीहरूसँग के–कति कागजात छन् भन्नेबारे भने कुनै जानकारी गराइएको छैन ।

पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ ।