७१ अर्ब लगानी आउँदो असारदेखि कार्यान्वयनमा आउने

७१ अर्ब लगानी आउँदो असारदेखि कार्यान्वयनमा आउने


आगामी असार १६ देखि ६३ करोड अमेरिकन डलर अर्थात नेपाली ७१ अर्बको लगानी कार्यान्वयनमा आउने भएको छ । नेपाल र अमेरिकी सरकारका तर्फबाट मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच भएको सम्झौताको कार्यान्वयन आगामी २०७७ असार १६ गतेबाट सुरु हुने भएको हो ।

नेपाल सरकार र अमेरिकी सरकारको तर्फबाट सम्झौता भएको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ को कार्यान्वयनमा एमसीसीले ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलर गरी गरी कुल ६३ करोड अमेरिकी डलर अर्थात (हालको खरिद दरअनुसार ७१ अर्ब रुपैयाँ) लगानी सम्झौताअनुसारका आयोजना अघि बढ्नेछन् ।

५ बर्षभित्र प्रसारण लाइन र सडक मर्मत आयोजना सम्पन्न हुनेगरी उक्त सम्झौता कार्यान्वयनमा आउने एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टले जानकारी दिए । उनले उक्त अवधिभित्र ३१८ किलोमिटर ४०० केभी क्षमताको लामो प्रसारण लाइन एवं तीनओटा उच्च क्षमताका सबस्टेशन निर्माण र बढीमा तीन सय किमी रणनीतिक सडकको मर्मत सम्भार गर्नुपर्ने सम्झौताअनुसार मिति तय गरिएको बताए ।

आयोजनामा चार सय केभी क्षमताको ३१८ किलोमिटर लामो प्रशारण लाइन र तीन वटा उच्च क्षमतायुक्त सव–स्टेशन निर्माण हुनेछ । यस्तै, तीन सय किमी रणनीतिक सडकको मर्मत सम्भार कार्यमा खर्च हुनेछ। आगामी असार १६ मा सुरु भएर सन् २०८२ असारमा काम सम्पन्न हुनेछ । पाँच वर्ष्भित्र आयोजना सम्पन्न नभए रकम फिर्ता जाने प्रावधान भएकाले काम सुरु गरेर निर्धारण गरेकै समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।

अमेरिकी कंग्रेसले सन् २००४ मा संसदबाट पास गरेर कार्यान्वयन सुरु गरेको थियो । एमसीए कार्यक्रम विश्वका २४ देशमा सुरु गरिएको छ । पछिल्लो समय नेपालका लागि अमेरिकी सहयोग सबैभन्दा ठूलो हो । कम्प्याक्ट सम्झौता कार्यान्वयमा लैजानु अघि नै सरकारसामू ६ वटा शर्त राखिएको छ। जसमा विद्युत नियमन आयोगको गठनका लागि कानूनी बाटो खुलाउनु पर्ने, कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन हुनुपर्ने, बुटवलबाट भारतको गोरखपुरसम्म सीमाबाट प्रशारण लाइन निर्माणका लागि योजना बनाउनु पर्ने लगायत रहेका छन् ।