भ्रष्टाचार अभियोगमा शरिफकी छोरी पक्राउ

भ्रष्टाचार अभियोगमा शरिफकी छोरी पक्राउ


पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ । भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको हो।

भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमध्ये उनी पनि एक प्रभावशाली व्यक्ति हुन्, जो इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेको व्यक्तिमा पर्छिन् ।

पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी)ले पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।

उनका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै छन् । नवाजलाई पनि भ्रष्टाचारसम्बन्धी अभियोग नै लगाइएको छ । उनी पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका थिए ।

त्यसैगरी मार्यमको काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा छन् । उनका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।