गैरआवासीय नेपाली संघको १२औँ युरोपियन क्षेत्रिय बैठक रोममा

गैरआवासीय नेपाली संघको १२औँ युरोपियन क्षेत्रिय बैठक रोममा


■ Sagar Subedi, Austria

गैरआवासीय नेपाली संघ युरोप क्षत्रिय समितिको प्रत्यक्ष सहभागिता तथा आयोजकराष्ट्र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) इटालीको आयोजनामा गैरआवासीय नेपाली संघको १२औँ क्षत्रिय बैठक तथा भेला सम्पन्न भएको छ ।

गत शनि र आइतबार आयोजित सो बैठकमा नेपाल सरकारका कानुन तथा संसदीय ब्यवस्था मन्त्री भानुभक्त ढकाल प्रमुख अतिथिका साथै प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता डा. शेखर कोइरालाको पनि विशेष अतिथिको रुपमा सहभागिता थियो ।

सुरुमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अथितिका रुपमा आउने चर्चा सुनिए पनि अन्ततः कानुनमन्त्री ढकालले नै प्रमुख अतिथिको रुपमा लगभग विश्वभरिबाट भेला भएका गैरआवासीय नेपालीहरुलाई इटालीको राजधानी रोममा सम्बोधन गरेका थिए ।

हरेक वर्ष कुनै न कुनै देशको राजधानीमा आयोजना गरिने कार्यक्रम अघिल्लो वर्ष लक्जम्बर्गमा घोषणा भएअनुरुप यस वर्ष रोममा आयोजना गरिएको हो। आयोजक एनसीसी इटाली कार्यक्रम सफल बनाउन तथा अतिथिहरुको सहयोग अनि सम्मानमा कसर राख्न नचाहेकै तवरमा खटिएको अनुभूति गरियो । तथापि, कार्यक्रम आयोजकसँग अतिथिहरुका केही ससाना गुनासा सुनिए पनि समग्रमा एनसीसी इटाली तथा यसका अध्यक्ष दीपेशकुमार रेग्मीले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न कसर बाँकी राखेनन् ।

बैठकमा युरोप क्षेत्रका एननसीसीहरुका साथ गैरआवासीय नेपाली संघ अष्ट्रियाबाट पनि नवनिर्वाचित आईसीसी राजकुमार उपाध्याको नेतृत्वमा अध्यक्ष विनोद चम्लागाई), उपाध्यक्षहरु विकास कार्की तथा कुमार अधिकार, महासचिव भवानी तिवारी, महिला संयोजक सम्झना बोहोरा, सचिव याङ्गजोम लाब्राङ्ग, युवा सह संयोजक सन्तोष भट्ट, एलसीसी टिरोल छेत्रका नवनिर्वाचित अध्यक्ष रुद्र विश्वकर्मा साथै निवर्तमान संरक्षक तथा पूर्व आईसीसी दीपेन्द्र हिमालय कार्की, पूर्व आईसीसी तथा लेखक साहित्यकार रविचन्द्र भट्टराई, पूर्वअध्यक्ष तथा प्रवासी नेपाली मञ्चका वर्तमान प्रस्तावित अधक्ष्य धर्मराज खतिवडा, उहाँकी धर्मपत्नी अन्जिता खतिवडा, तथा पूर्महासचिव निर्मल पौडेल समेतले भाग लिनुभएको थियो।

एनसीसी अष्ट्रियाको तर्फबाट बोल्न तथा आफ्ना कुरा राख्नका लागि अधक्ष्य विनोद चौलागाईं तथा महिला संयोजक सम्झना बोहोरालाइ समय दिइएको थियो भने मायाको चिनो आइसीसी राजकुमार उपाध्यालगायत सम्पूर्ण टिमलाई केन्द्रिय अध्यक्ष भवन भट्टले हस्तान्तरण गरेका थिए ।

सम्बोधनका क्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चौलागाईंले नेपालीहरुको साझा संस्थाको वृहत्तर हितका पक्षमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको हातेमालोबिना सम्भव नभएको तथा आगामी दिनमा बोलेर भन्दा गरेर आगाडि बढ्ने विचार ब्यक्त गर्नुभयो । यस्तै, महिला संयोजक श्रीमती बोहोराले मन्तव्य राख्ने क्रममा सम्भवतः सहभागिता अनि निर्वाचित गणपुरक संख्याका आधारमा भन्दा गैरआवासीय नेपाली संघ राष्ट्रिय समुन्वय परिषद अष्ट्रियाका विभिन्न कार्यकारी पदमा आधाको संख्यामा महिलाहरु निर्वाचित भएर आएको जानकारी दिँदा हलमा तालीको गुन्जाहट सुनियो।

आगामी वर्षको १३औँ युरोपियन सम्मेलन-राष्ट्र आयरल्याण्ड भए पनि केही प्राविधिक कठिनाइलाई बहसमा ल्याउँदै अष्ट्रियाबाट भाग लिनुभएका वर्तमान अनि पूर्व पदाधिकारीहरुले आयरल्याण्डले नगरेको खण्डमा अष्ट्रियाले आयोजना गर्ने भन्ने अनौपचारिक सहमति भएको बुझियो । यो कुरा आयरल्याण्डको एनसीसीको पूर्ण बैठकले निर्णय गरेको खण्डमा मात्र आधिकारिक जानकारी दिने अनौपचारिक सहमति पनि भयो।

सो कार्यक्रममा युरोपमा रहेका विभिन्न देशका राजदूतहरु जसमा स्पेनका लागि हिराकान्त पौडेल, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, जर्मनीका लागि रमेशप्रसाद खनाल, फ्रान्सका लागि दीपक अधिकारी, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लाथि तीर्थराज घिमिरे, अष्ट्रियाका लागि प्रकाकुमार सुवेदी , बेलायतबाट नेपाली दूतावासका द्वित्तीय सचिव लव सुवेदी समेतको सहभागिता रहेको थियो ।