कारबम विस्फोटमा काबुलमा ९५ व्यक्ति घाइते

कारबम विस्फोटमा काबुलमा ९५ व्यक्ति घाइते


अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानअघि अमेरिका र तालिबानबीच शान्तिसम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ ।

पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेसनको प्रवेशद्वारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताएका छन् ।

यस आक्रमणमा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन् । यसमा पनि महिला र बालबालिकाको संख्या बढी रहेको जनाइएको छ । ती सबैलाई उपचारका लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताए ।

आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नो पसलमा रहेको झ्यालका सिसा फुटेर सबैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले बताएका छन् । सो विस्फोट गराइएको एक किलोमिटरपरसम्मका करिब २० वटा पसल विस्फोटबाट प्रभावित भएको जनाइएको छ ।

यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकु समूहले लिएको छ । अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म १ हजार पाँच सयभन्दा बढी सर्वासाधारण घाइते भएका संयुक्त राष्ट्रसंघले हालै जनाएको छ ।