ओलम्पिक कमिटीको निर्वाचन भदौ २० गते

ओलम्पिक कमिटीको निर्वाचन भदौ २० गते


नेपाल ओलम्पिक कमिटीको साउन २० गते सोमबार बसेको विशेष साधारणसभाले नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २० गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाको बैठकले गरेको हो ।

निर्वाचनको लागि एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) लाई पत्राचार गरेको थियो । दुवै कमिटीले भदौ २० गतेलाई स्वीकृति प्रदान गरेपछि एनओसीले निर्वाचनको मिति भदौ २० गते तोकेको हो ।

सो साधारणसभाले निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । समितिको संयोजकमा बरिष्ठ अधिवक्ता लोकभक्त राणा रहेका छन भने सदस्यहरुमा सुरेन्द्र थापा र राधिका खतिवडा रहेका छन् ।

त्यस्तै उक्त विशेष साधारणसभाले विधान संसोधन गर्दै १७ सदस्यीय कार्यसमितिलाई परिवर्तन गर्दै १९ सदस्यीय बनाएको छ । संसोधित विधान अनुसार अव एनओसीमा पाँच उपाध्यक्ष रहनेछन् । यसअघि चार उपाध्यक्षको व्यवस्था थियो । त्यस्तै तीन सचिव पनि थप गरिएको छ ।

विगतमा एक मात्र सचिव रहेकोमा संसाधित विधानमा दुईवटा सदस्य कटौति गर्दै सचिवको संख्या बढाएको हो । यसअघि एनओसीको कार्यसमितिमा नौं सदस्य रहेपनि अव सात मात्र कायम गरिएको छ ।

त्यस्तै मानर्थ अध्यक्ष रुपमा निवर्तमान अध्यक्षलाई बनाउने प्रावधान भएपनि त्यसमा पनि संसोधन गरिएको छ । जसअनुसार अब जो कोही पूर्वअध्यक्षलाई मानार्थ अध्यक्ष बनाउन सकिने छ ।