यसरी आफैँले देखेँ हिममानव ‘यती’

(इतिहास)





■ योगी नरहरिनाथ

विक्रम सम्वत् २०१४ साल ऋषितर्पणी श्रावणी पूर्णिमाका भोलिपल्ट बिहान ८ बजेको समय थियो । मानसरोवरमा पूर्णिमा स्नान गरेर कैलाश कोरा (पञ्चकैलाशको परिक्रमा) को उपक्रम थियो । गौरीगङ्गा र शिवगङ्गाका त्रिवेणीमा स्नान गरेर शिवगङ्गाका बायाँतिरको बाटो खस्र्युगुम्बा (राष्ट्रध्वजगुहा) देखि केही अगाडि बढेका थियौँ । म अलि अगाडि थिएँ । मेरा साथी मु. दानबहादुर भण्डारी, पं. रत्नपति चौलागाईं, गुराका धामीसहित ३४ जना पछाडि हिँडिरहेका थिए । कोही घोडामा थिए, कोही पदाति, कसैलाई विषवात् दम लागेको थियो र मन्दगत्या गइरहेका थिए । मलाई पनि घोडा चढ् भन्थे, तर गोडा नथाकेसम्म घोडा चढेर तीर्थ गर्ने इच्छा छैन भनेर पदाति नै थिएँ ।

कैलाशपतिका कृपाले हुन पनि केही भएन । गतिरोध गर्दा पनि अगाडि पुगिन्थ्यो । हिमाली विचित्र प्रकृति देवीले कतै हिमशुभ्र टाकुरामा प्रभाती सुनौलो घाम झुल्किरहेको थियो । त कतै बादलका बर्काबाट रुवो वर्षेझैँ हिउँ वर्षिरहेको थियो । बायाँतिर हिमशुक्लजला कलनादिनी शिवगङ्गा बगिरहेकी थिइन् । वारिपारि तलमाथि जता हेरे पनि सर्वशुक्ला सरस्वती भनेझै कैलाशवरिपरि पार्वत्य प्रकृतिले १–२ हातदेखि असङ्ख्य हातसम्म हिममय डसना ओछ्याएको थियो र सिरक ओडेको थियो । दिनको ४ बजेदेखि प्रालेयत्वतासले ठाँडिएका हिउँ–पानी छहराहरू स्फटिक स्तम्भको भ्रान्ति गरिरहेका थिए । मर्त्यलोकका कुनै जन्तुको दर्शन दुर्लभ थियो ।

लंकारी र मानसरोवरबाट उडेर कैलाशकोरा गरी गौरीकुण्डतिर बढेका विरलाकोटी राजहंस–युगल मात्र कहिलेकाहीँ कलरव गर्थे । हंसदर्शनार्थी यात्री उन्मुख भएर हेर्थे । उर्णाप्रचुर वस्त्रधारण गरेर कैलाश प्रदक्षिणार्थी यात्रीमण्डल अगाडि बढिरहेको थियो । अरूभन्दा म पाँच सय गजजति अगाडि हिँडिरहेको थिएँ । मेरा दायाँहातमा छाता थियो । बायाँहातमा ऐतिहासिक अभिलेख र चित्रयन्त्र (क्यामरा) को झोला थियो । एक्लै मनैमन…

उद्भूत–चामर–रुचां शुचिनिझंराणा
वाता वनौषधि– सुवास– भृतो वहन्ति ।
प्रालेयं– शैल– विषये विष– वेग– मूच्र्छाः
शितत्र्तुषु क्वचन वान्ति च काल– वाताः ।
अखट विकट घाटा उइ उकाला वराला
झड भड भिड गाँडा जीर्ण साँगु कराला
वनकर भय भारी लेख खोला र नाला
विष बुकी हिम काटी वीर कैलाश जाला’ … भन्ने गन्थन गर्दै थिएँ ।

यस्तै अवस्थामा मेरो जीवनमा एउटा अभुतपूर्व अद्भूत घटना घट्यो । शिवगङ्गाका दाज्ञातिर पारी पट्टी तीर्थापुरीतिरका हिमाच्छन्न पाखाबाट एउटा भीमकाय हिममानव ओर्लिरहेको देखियो । अनुसन्धानशील कुतुहली हिमालचुलीका यात्रीहरूद्वारा बहुचर्चित यती वा हिमपुरुष यद्वा यही नै रहेछ । तर, मैले यसपालि पहिलोपटक दृष्टिगोचर गरेको थिएँ । तसर्थ आश्चर्य लाग्नु स्वाभाविक थियो । देख्नासाथ यति प्रभावित र आकर्षित भएँ कि समस्त कर्मेन्द्रिय र ज्ञानेन्द्रिय वर्ग प्रत्यक्ष दर्शनमा केन्द्रित भएँ । त्यसबेला केवल दृष्टिले काम गरे, अरू सबै इन्द्रियवृत्ति र चित्तवृत्ति निरुद्ध भएँ । आश्चर्य, औत्सुक्य, कौतुहल, जिज्ञासा र विस्मयका भावशावल्यमा चित्र लिने महत्वपूर्ण काम पनि पछायो । तबसम्म त्यो हिममानव नैसर्गिक गत्या पारिबाट ओर्लेर शिवगङ्गाका १५–२० गज जति जलप्रवाहलाई अनायास पानी नछोईकनै नाघेर एक्कैपाइलामा वारिपट्टि टेकेर आयो । अनि एकचोटि मात्र मतिर मुन्टो घुमाएर हेऱ्यो । तर, रोकिएन । बाटो काटेर पूर्ववत् स्वाभाविक गत्या दानातिर कैलाशका पश्चिम पाखापट्टि लाग्यो । सय गजजति गएपछि उकालो लाग्यो । ओरालोभन्दा उकालोमा झन छिटो हिँड्दो रहेछ । किन्तु लामा हात भुइँमा लाग्ने हुनाले कुममाथि फालेर हल्लाउँदै हिँड्दो रहेछ । यतिञ्जेल ऊ पनि अलिअलि हिउँ बर्सिरहेको मेघमण्डलमा पुग्यो ।

यता मेरा साथी पं. रत्नपतिले पुगेर क्या हो ? किन रोकिनुभयो ? भनेको सुन्दा मेरो चित्तवृत्ति यतातिर फर्क्यो, तैपनि दृष्टि उतै थियो । मैले भने– त्यो क्या हो ? अनि उहाँले यी शिवजीका गण हुन्, घुमिरहन्छन् । कुनै नौलो कुरा होइन । यिनको चेवाचर्चा गर्नुहुँदैन । हिउँ पर्छ, बिघ्नबाधा पर्छ । जाऊँ, बिहानै बाटोे काटेको राम्रो हुन्छ । दिन ढल्केपछि कालो बतास पनि चल्छ । गौरी लाग्नु काट्नु धौ हुन्छ भन्नुभयो । शिवगणको नाम सुनेपछि मलाई झन् जिज्ञासा बढ्यो । अनि बल्ल चित्र लिने स्मृति जाग्यो र झोलाबाट चित्रयन्त्र (बक्स क्यामेरा) झिकेर चित्र लिँदासम्म त्यो हिमपुरुष हिमवर्षक जलद–जवनीका भित्र पस्न लागेको थियो ।

अगाडिबाट चित्रग्रहण गर्नु बिर्सियो । टाढा पुगिसकेपछि पिठ्युँपट्टिबाट पानी बर्सिरहेका बादलका जबनिकामा पस्ने बेलाको चित्र मात्र लिन सकियो । त्यस हिममानवले हिउँमाथि पारेको पाइलो नापियो । गज फुटमा मिलेका मेरा हातको ठिक्क एक हात लामु र मुडी हात चाक्लो पञ्जा भयो । कुर्कुच्चा भने, १ कुडेत तिखुल्लो रहेछ । आठ माससम्म धुलाई गर्ने साधन नपाई कैलाश मानसरोवर आदि हिमाली ऐतिहासिक प्रलम्ब यात्रा सिध्याएर काष्ठमण्डप पुगी धुलाई गर्दा आधाजति चित्र नष्ट भइसकेछन् । कतिपय चित्रमात्र स्वच्छ उत्रे । तिनैमा त्यो चित्र पनि अस्पष्ट हुन गएछ । तैपनि अरू ऐतिहासिक चित्रमध्ये सुरक्षित छ । यन्त्रचित्र विलम्बित र धमिलो भए पनि मेरा आँखाले प्रत्यक्ष लिएको चित्र अद्यापि झलमल्ल सङ्लो छ । त्यसैका आधारमा शब्दचित्र प्रस्तुत गरिन्छः–

यो यती वा हिमपुरुष मेरा हातको ७ हातजति अग्लो । लम्बाइअनुसार मोटो हट्टाकट्टा, हात धुँडादेखि तलसम्म पुगेका पुष्ट र क्रमैसित माथिपट्टि मोटा । तिनकुने हत्केला । औँला लामा । नङभन्दा रौँ लामा । बाजु र कलाई पुष्ट बाउँडिएका । छाती २ हातजति चाक्लो ढालझैँ पुष्ट उठेको । घाँटी अलि छोटो र मोटो । दुवै कुम अलिअलि उठेका । चिउँडो अलि लामु तिनकुने । मुखदेखि माथि बाटुलो अनुहार । गाला पुष्ट । ओठ अलि मोटा, दाँत देख्न पाइएन । नाक अलि मोटोे र चेप्टो पोटाएको । आँखा अलि साना गैरा र पिँगल गोलाकार प्रायः । आँखिभौँ झ्याम्म झुकेका एक अङ्गुलभन्दा लामा । आँखादेखि माथि अर्धगोलाकार चाक्लो ललाटसम्म बसेको । कान केशरीका जस्ता ठाडा र अलि गोल । जुँगा छैनन् । चिउँडादेखि कानसम्म साना मसिना खैरा रौँ । टाउको ठूलो । कम्मर अलि पातलो । पेट स्याप्प बसेको । नितम्ब फुकेको उरु र जङ्घा पुष्ट बाउँडिएका । घुँडा, कुहुना पौँठा र गुल्फ गाडिएका । खुट्टा तिनकुने । लामा औँला छ्यार्र अगाडि फुकेका । नङ नदेखिने लामा रौँले ढाकेका । हिउँमाथि टेकेका पाइला मेरा हातका ठिक्क एक हात लामा, मुडी हात पञ्जा, कुँडेत कुर्कुच्चा छन् । मेरा हात जग फुटमा मिलेका छन् । शिरदेखि पाउपर्यन्त एक बित्ताजति लामा कलेजी खैरा रौँ छन् । रातो र पहेँलो मिलेको मुखको रङ छ । रौँ दुई प्रकारका छन् । एक प्रकारका लामा मोटा अलि विरल छन् । तिनका जरामा टम्म भरिएका मसिना खुलुजस्ता मखमली रौँ छन् । जसभित्र हिउँ पानी पनि पस्दैन होला । पुच्छर छैन । आङमा लुगा कुनै छैन । खुट्टामा जुत्ता दोचा शुकलाम आदि केही छैन । मानिसदेखि तर्सने पनि होइन, तर्साउने पनि होइन । ओरालामा भन्दा उकालामा छिटो हिँड्छ । अङ्गप्रत्यङ्ग पुष्ट छन् । टाढाबाट हेर्दा साक्षात् जाम्बवान्जस्तो देखिन्छ । निकटमा आएपछि हात, खुट्टा, छाती, मुख आदि मानवका जस्ता स्पष्ट देखिन्छन् । मानवको पूर्वरूप जस्तो लाग्छ । मभन्दा आठ–नौ गज जति अगाडिबाट बाटो काटेको हो ।

यस घटनापछि गजदन्तगुम्बा, चिउगुम्बा, ठुइकुगुम्बा, मूलगुम्बा आदिका बाह्रमास कैलाशमानसनिवासी लामा र वर्षामा वर्षापाटनमा चौँरी, झुमा, घोडा, भेडा, च्याङ्ग्रा आदि चराउने छोपाहरू तथा अनेकवार कैलाशमानसका यात्रीहरूसित जिज्ञासा गर्दा हिममानवका विषयमा पाइएको सङ्क्षिप्त परिचय यस्तो छ :–

हिममानव, हिममानुष, हिमपुरुष, हिउँमान्छे वा यती एउटै हो । यो प्रायः युग्मचारी हुन्छ । छुट्टिए पनि वारिपारि, तलमाथि डिठ पर्ने ठाउँमा एक्लै हिँडे घुमे पनि, डाँडापारि वा टाढा हुँदा साथ आफ्नै एकाक्षरी भाषामा ‘आ’ ‘उ’ आदि भनेर डाकिहाल्छ । कहिलेकाहीँ एउटा बालक पनि साथमा देखिन्छ । बाबुलाई केही कालका लागि छोडे पनि त्यो बालक आमालाई कहिल्यै छोड्दैन । हामीले हेर्दा नरनारी छुट्याउन सक्दैनौँ । यसको मुख्य हेतु अधिक लोमश हुनु नै हो र आकृति–प्रकृतिमा विशेष अन्तर पनि हुँदैन । हिममानव हिंस्रक हुँदैन । कन्दमूल, फलफूल, सागपात, केही नपाएमा गुफाभित्रको पाल्वाङ माटो खान्छ । यो माटो पोखरीको पाँगो जमेझैँ हिमाली भूगर्भमा प्रायः सर्वत्र छ । विशेष भद्रखण्ड कैलाश मानस प्रदेशमा छ र हुम्लासम्म कताकति पाइन्छ ।

नवनीतजस्तो सेतो र दूधको जस्तो स्वाद हुन्छ । खाँदा भोक प्यास मेट्छ र पुष्टि दिन्छ । कैलाश मानस सरोवरको प्रसाद भनेर यात्रीहरू लैजान्छन् । तालुमा हत्केला र पैतलामा लेप गर्दा तापज्वरो शान्त हुन्छ । मुटु–पेट आदिको डाह पनि शान्त गर्छ । पाल्वाङ माटो खाँदा लुतो, खटिरा, विफर आदि शान्त हुन्छन् । यो अन्नादिका अभावमा खाद्य हो र औषधि पनि हो । देवदानवद्वारा समुद्र मन्थन गर्दा प्रकट भएका अमृतको फिन जमेको होला भन्ने स्थानीय जनभावना छ । केही नपाएका खण्डमा हिममानव र शाकाहारी मानवको हिमाली खाद्य पनि हो । ठिक्क नौनीजस्तै हुन्छ । खाँदा दाँतमा बालुवा पनि लाग्दैन । बाह्रैमास हिमालयमा बास गर्ने मानिस कात्तिकदेखि चैतसम्म हिउँले टम्म पुरिँदा हिमगुहाभित्र सबै दिन पाल्वाङ् माटो चाटेर नै जीवनयापन गर्दछन् । हिममानवको मुख्य आहार यही हो । हिमाली स्थलचर अरू जन्तुहरूको पनि मुख्य खाद्य यही हो ।

हिममानवले कुनै मानिस वा जीवजन्तुलाई दुःख दिन्न । आफू पनि डराउँदैन, कसैसित सम्पर्क पनि राख्दैन । कसैको भाषा बुझ्दैन । अरूले पनि यसको भाषा बुझ्दैनन् । हिममानवको भाषा प्रायः एकाक्षरी हुन्छ । यथा आ ई उ ए ऐ ओ औ आम् इम् काङ् किङ कुङ् क्वाङ् का की चू चा ची चो चम् चङ् च्वाङ् च्च पा पो पी प्वाङ पुङ पिङ् प्याङ नू नाङ् नङ् हा हू है हो हाङ् हुङ् हिङ् ला ली लू लङ् इत्यादि । बाह्रैमास हिमप्रदेशमा रहन्छ । हिउँदेखि तल अलिकति आउँदासाथ घाम खप्न नसकी हाँ हाँ गर्दै हिउँतिर लाग्छ । हिममानिसलाई हिमप्रदेशबाट झिक्नु र पानीबाट माछालाई झिक्नु एउटै कुरो हो । मानिसभन्दा धेरै चिरञ्जीवी र निरोगी हुन्छ । कुनै बेला कुनै कारणले एउटा मऱ्यो भने अर्को केही नखाई उसको टाउको काखमा राखी विलाप गर्दै झुरिएर केही दिनपछि मरिजान्छ । एउटा सुतेर मर्छ, अर्को बसेर मर्छ । विकट हिमाली टाकुरा र गुफा कन्दराहरूमा कहिलेकाहीँ तिनका विशाल कङ्काल फेला पर्छन् । टाउकाको खप्पर त हजारौँ वर्षसम्म गल्दैन र माटिँदैन । पुराना लामाहरूका गुम्बामा ती खप्पर सुरक्षित र पुजित पाइन्छन् ।

मानव जातिका विकासक्रममा सबैभन्दा प्रथम हिममानव नै हो अनि हिमपुरुष पछि किमपुरुष वा घोरमुखा, लम्काने, वनमानुष, वनझाँक्री, नाइकोरा, फिटा, छोपा, राउटे, कुसुण्डा, चुफे, चुल्ठे इत्यादि जातिका गाउँघर बसोबास खेत पाखो र नियत निवास नभएका जनसङ्ख्या पनि नभएका र नागरिक अधिकार नभएका मानवहरू हिमालयमा प्रायः सर्वत्र छन् । विशेष कैलाश मानस खण्डमा छन् । यीमध्ये एक–एक जातिको परिचय यस्तै, यसभन्दा विचित्र छ । कुनै शाकाहारी छन् । कुनै मांसाहारी छन् । यस्तै अरू पशुपक्षी मृगादि छन् । उक्त मानवजाति हिमालचुलीदेखि महाभारत पर्वतमालापर्यन्त पाइन्छन् । महाभारत र चुरेका पाखाहरूमा कताकती चुरेका उपत्यका र मालीनदीका तीरमा पनि कुशहरी, पहरी, थामी, हायु, मुमी, दरै, दनुवार, सुनुवार, वोट, कुमाल, राजी, माझी, नागा सन्थाल आदि केही विकसित जनसङ्ख्यामा आएर नागरिकता पाएका पनि छन् । मानवी सृष्टिको बाटो पहिल्याउन खोज्ने अनुसन्धाताहरूले यी सबैको गवेषणा गर्नु वाञ्छनीय छ । जसबाट बुद्धिजीवी विश्व मानव जातिको उत्पत्ति र क्रम–विकासमा प्रशस्त प्रकाश पर्न सक्नेछ ।

(योगी नरहरिनाथद्वारा लिखित ‘यो यती’ नामक पुस्तकबाट साभार)
pic: google

प्रतिक्रिया