कृष्णदीपका चार बालपुस्तक एकैसाथ सार्वजनिक

कृष्णदीपका चार बालपुस्तक एकैसाथ सार्वजनिक


बालसाहित्य सर्जक कृष्णदीप सिग्देलका बालसाहित्यका चार पुस्तक एकैसाथ सार्वजनिक भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शनिबार प्रा.डा. चुडामणि बन्धुको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रमबीच उक्त पुस्तकहरूको विमोचन भएको हो ।

विमोचित पुस्तकहरु ‘पुतली’, ‘म खोजिदिन्छु नि’, ‘पुन्टुसँग कोही खेलेनन्’ र ‘मोजाको जोडी’ रहेका छन् । पूर्वप्राथमिक तहका बालबालिकाका लागि पढेर सुनाइदिने तथा प्राथमिक तहका बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार गरिएका यी पुस्तकमा क्रमशः उजेली सुनार, समित श्रेष्ठ, राजकुमार प्रजापति र रमेश डङ्गोलले चित्राङ्कन गर्नुभएको छ । यी पुस्तकहरुलाई साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो ।

प्रकाशन संस्थाका तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गर्दै साहित्यकार आन्विका गिरीले साङ्ग्रिला बुक्ससँग बालबालिकाको चासोका विषय सम्मिलित भएका पुस्तकहरुलाई गम्भीरतापूर्वक प्रकाशन गर्दै जाने योजना रहेको पनि बताउनु भएको थियो । साङ्ग्रिला बुक्सले यसअघि बालसाहित्यका लगभग २५ पुस्तक प्रकाशन गरिसकेको छ ।

विमोचनका क्रममा प्रमुख अतिथि प्रा.डा. बन्धुले नेपाली बालबालिकाका लागि चित्रपुस्तकका अलावा अध्याय पुस्तकको आवश्यकता रहेको तथ्य औँल्याउनु भएको थियो । पुस्तकहरुमाथि टिप्पणि गर्ने क्रममा सिर्जना शर्माले अभिभावकहरुले यी पुस्तकलाई घरमा बालबालिकामाझ कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा चर्चा गर्नुभएको थियो ।

साथै निसर्ग बाटिका स्कुलका प्रधानाध्यापक श्री कामना रेग्मीले कक्षाकोठामा यी पुस्तकको सम्भावित प्रयोगका बारेमा बताउँदै यस्ता पुस्तकहरुले बालबालिकाको कल्पनाशीलताको विकासमा असाध्यै महत्वपूर्ण भूमिका खेल्ने तथ्य व्यक्त गर्नुभएको थियो । त्यस्तै अर्का वक्ता प्रोफेसर डा. ध्रुव घिमिरेले सर्जक कृष्णदीप सिग्देल तथा विमोचित पुस्तकहरुको नेपाली बालसाहित्यमा रहेको स्थानका बारेमा चर्चा गर्नुभएको थियो ।

लगभग दुई दशकदेखि कृष्णदीप सिग्देल बालसाहित्य लेखनमा सक्रिय रहँदै आउनुभएको छ । सर्जक सिग्देल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बालसाहित्यका पुस्तक पढ्न तथा तीमाथि चर्चा गर्न रुचाउनुहुन्छ । उहाँ नयाँ शैलीका पुस्तकहरु सिर्जना गरे मात्रै बालसाहित्यको विस्तार हुनसक्छ भन्ने मान्यता राख्नुहुन्छ । उहाँ बालसाहित्य सिर्जनाका अतिरिक्त सम्पादन, संयोजन तथा कथावाचनमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । सिग्देलका ७० का हाराहारीका बालसाहित्यका पुस्तकहरु प्रकाशित भइसकेका छन् ।