एनआरएनए जापानमा प्रतिस्पर्धीहरुबीच दौडधुप

एनआरएनए जापानमा प्रतिस्पर्धीहरुबीच दौडधुप


■ श्याम क्षत्री, टोकियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप चलेको छ ।

एनआरएनए जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा हुँदैछ भने जापान अध्यक्षयका लागि चार जनाले उम्मेम्मेदवारी घोषणा गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्नेहरुमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद पौडेल तथा आईसीसी सदस्य दिनेश गुरुङ रहेका छन् । अहिले विभिन्न पदमा दाबी गर्ने प्रतिस्पर्धीहरु निर्वाचनको प्रचारप्रसार तथा गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

वर्तमान कार्यकालमा आफुले धेरै काम गर्न सफल भएको र एनआरएनए जापानलाई अझै प्रभावकारी बनाउन आफुले पुनः उम्मेद्वारी दोहो¥याएको वर्तमान अध्यक्ष टासी वाङ्दी लामा बताउँछन् । लामाकै कार्यकालमा नेपालबाट जापान आएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको थियो भने एनआरएनए जापान ०१७(०१९ कार्यसमितिले आफ्नो कार्यालय खर्च कटौती गरी नेपालका विभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने योजना रहेको बताइएको छ । यदि लामाको कार्यकाल नदोहो¥याए करिव ४० लाख बराबारको मासिक छात्रवृत्ति योजना छुट्न सक्ने चिन्ता सरोकारवालाहरु गर्दछन् ।

अध्यक्षका अर्का प्रत्यासी देवीलाल भण्डारीले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने बताए । उनले प्रवासी नेपालीप्रति सरकारको ध्यान न्यून गएको तथा सरकार र प्रवासीबीचको निकटता घनिष्ट बनाउनका लागि सधै. लडिरहने प्रतिबद्धता जनाए। कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा एनआरएन जापानले अझ गम्भीरतापूर्वक कार्य गर्ने भण्डारी बताउँछन् ।

जापानमा रहेका नेपाली प्रवासीले उनलाई एक सामाजिक अभियन्ता नै मान्ने गर्दछन् । उनी कार्यसमिति सदस्य हुँदे वरिष्ठ उपाध्यक्षसम्म बन्न सफल भएका थिए । आगामी निर्वाचनमा पनि भण्डारी अध्यक्षको बलियो दाबेदार मानिन्छन् ।

त्यस्तै अर्का आकांक्षी शिवप्रसाद पौडेलले विदेशी सीप र प्रविधि स्वदेशमा भित्र्याउन आफु उन्मुख हुने प्रतिबद्धतासहित अध्यक्ष पदमा आफ्नो दाबी रहेको बताए । पेशाले जापानका एक सफल नेपाली व्यवसायी पौडेल एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिको उपाध्यक्षमा राम्रै मत ल्याई प्रत्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । व्यवसायका साथसाथै आफुले कमाएको केही रकम सामाजिक कार्यमा खर्च गर्ने मनसायले पनि पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा प्रवेश गरेको बताउँछन् ।

एनआरएनए जापानको सल्लाहकार हुँदै उपाध्यक्षसम्म भैसकेका पौडेल सामाजिक र ब्यक्तिगत रुपमा पनि सबैलाई सहयोग गरि सबका प्यारा बनेका छन् । उनी पोखरा समाज जापानका निवर्तमान अध्यक्ष समेत हुन् । पढाईमा अब्बल पौडेल नेपालमा रहँदा विद्यालयमा शिक्षकको रुपमा काम गर्दथे । पौडेल आगामी निर्वाचनमा बलिया दाबेदारको रुपमा देखिएका छन् ।

संस्थाको नेतृत्वका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउँछन् दिनेश गुरुङ । आइसीसीसीमा रहेर काम गरी सफलता हासिल गरिसकेका दिनेश गुरुङ जापानका एक सफल नेपाली व्यवसायी पनि हुन् । एनआरएन जापानलाई सबैको साझा संस्थाको रुपमा विकास गर्ने लक्ष्यसाथ नेतृत्वमा पुग्न आफ्नो उम्मेदवारी रहेको बताउँछन् दिनेश गुरुङ । गुरुङले जापानमा रहेका सबै नेपालीहरुलाई लक्षित गरी नेपाल हाउस निर्माण गर्ने र यहाँ रहेका नेपालीलाई जापान बसाईमा एनआरएन जापानले सहयोगीको भूमिका खेल्ने वातावरणको पूर्वधार निर्माण गर्ने बताए । नेपाल हाउसभित्र नेपालमा लगानीनि तथा भ्रमणको लागि जाने जापानिजहरुलांई नेपाल सरकारको सहयोगी बनि नेपाल भ्रमण जाने जापानिजलाई नेपालको बारेमा जापानिज भाषामा नै जानकारी दिनेको पनि ब्यबस्था गर्ने पनि उनले बताए ।

आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै क्षेत्रीय समितिहरुमा समय समयमा अन्तरक्रिया कार्यक्रम राख्ने र जापानमा रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई पहिचान गरी तत्काल निराकरण गर्नका लागि काम गर्ने दिनेश गुरुङ बताउँछन् । तमु धी जापानको अध्यक्ष समेत भइसकेका गुरुङ स्याङ्जा समाज अन्तर्राष्ट्रिय समन्वय परिंषदका वर्तमान सरंक्षकको भूमिकामा पनि काम गरिरहेका छन् ।

राष्ट्रिय समन्वय परिषदले २०१९ र २१ को लागि निर्वाचन समिति गठन गरेको छ ,जसमा ओम गुरुङ प्रमुख निर्वाचन आयुक्त रहने गरि सदस्यमा शरद गौचन र शालिकराम भण्डारीलाई चयन गरेको छ ।