बेल्जियममा उम्मेदवारी घोषणा गर्नेहरुको लहर !

बेल्जियममा उम्मेदवारी घोषणा गर्नेहरुको लहर !


■ डिल्ली अम्माई, बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए), जनप्रगतिशील मञ्चलगायत विभिन्न संघ–संस्थाको अनुभव बटुलेका चित्र सुवेदीले एनआरएनए एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

रेस्टुरेन्ट व्यवसायी तथा सामाजिक अभियन्ता चित्र बेल्जियमको मात्र नभएर युरोपभरि नै एक सक्रिय सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन् । एनआरएनए अभियान तथा सामाजिक परोपकारको क्षेत्रमा उनले अहम भूमिका निभाउँदै आएका छन् ।

प्रयटन प्रवर्द्धन तथा सामाजिक अभियान हुन् वा नेपालीहरूमाथि आइपरेका समस्याका कुरा, चित्र इमान्दारीका ससाथ आर्थिक, नैतिक र भौतिक सहयोगमा हरदम तत्पर रहन्छन् । उनले योपटक सामाजिक छाता संस्थाको अध्यक्ष भएरै आफ्नो सेवाभावलाई अझ ब्यापक रुपमा नेतृत्व गर्न खोजिरहेका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा एक अपिल (संकल्प–पत्र) प्रकाशित गर्दै सुवेदीले भनेका छन्– ‘आदरणीय बेल्जियमवासी बुबा–आमा, दाजुभाइ, दिदी–बहिनीहरुमा नमस्कार ! म चित्र सुवेदी, विगत १८ वर्षदेखि बेल्जियमको नेपाली समाजमा तपाईंहरुको सुझाव सल्लाह र सहयोगले यहाँहरुकै माझमा रही सामाजिक कार्यमा संलग्न रहँदै आएको छु । काम गर्दै जाने क्रममा बेल्जियमको समाजमा अझ बढी जिम्मेवारी लिई काम गर्ने मेरो चाहना रहेको छ । बेल्जियममा बसोबास गर्ने नेपाली समुदायलाई अझ एकताबद्ध र मजबुत बनाउँदै बेल्जियमवासी नेपालीको आर्थिक–सामाजिक उन्नतिका लागि बेल्जियमका सरकारी र अन्य निकायहरुसँग सहकार्य गर्दै काम गर्ने, नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई बेल्जियममा चिनाउने र नेपाली नागरिकता सम्बन्धमा देखिएको दुविधापूर्ण अवस्थालाई उचित निष्कर्षमा पुऱ्याउने मेरो संकल्प रहेको छ । त्यसको लागि नेपाल सरकार समक्ष जोडदार रुपमा पहल गर्नको लागि पुनः अभियान चलाउने, नेपालमा लगानी तथा नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई बेल्जियममा चिनाउँदै नेपालको पर्यटन विकासलाई टेवा पुऱ्याउने जस्ता कामलाई अगाडी बढाउन एनआरएन, बेल्जियमको आगामी (२०१९–२०२१) कार्यकालको लागि अध्यक्ष पदमा उमेदवारी दिने मेरो चाहना यहाँहरु समक्ष अवगत गराउन चाहन्छु । बेल्जियमवासी नेपाली समुदायको सल्लाह र सुझावले नै मलाई सही निर्णयसम्म पुग्न मद्दत गर्ने हुँदा हजुरहरु सबैबाट आवश्यक सुझाव र सल्लाहको अपक्षा गर्दछु ।’

उम्मेदवारी घोषणाको अवसरमा उनले सम्पूर्ण बेल्जियमवासी नेपालीहरुलाई संकेत गर्दै भनेका छन्, ‘मेरो समाजप्रतिको दायित्वबोधले एकपटक यो संस्थाको नेतृत्व गर्न घच्घचाएको हो । सामाज सेवाभन्दा यसमा अन्य कुनै स्वार्थ छैन । एनआरएनएमा नेतृत्व गर्ने भनेको समाजको लागि केहि दिनका लागि हो । हामीले सम्पूर्ण बेल्जियमवासी नेपालीबीच एकताको सन्देश जावस् भनेर नेतृत्वलाई सर्वसहमतिको पहल गर्ने प्रयास गरेका छौँ । सर्वसहमतिमा हाम्रो निरन्तर प्रयास रहिरहने छ र त्यसको लागि हामीले आवश्यक त्याग गर्न तयार रहने छौँ । यो वा त्यो संगठन भन्नु भन्दापनि सबै नेपालीहरुले मिलेर बेल्जियमको कार्यसमिति निर्माण गर्न सके संसारभरि सकारात्मक संदेश जाने थियो । सर्वसहमतिको लागि बेल्जियमका सबै अग्रज, नेतृत्वकर्ता र गैरआवासीय नेपालीहरुले दबाब बनाइ राख्न र सहयोग गर्न समेत विशेष आह्वान गर्दछु ।’

स्मरण रहोस्, बेल्जियमका केही अभियन्ताहरूले आगामी एनआरएनएको निर्वाचनलाई मध्यनजर गर्दै आफ्ना उम्मेदवारको नाम सामुहिक छलफलबाट टुङ्ग्याएको जानकारी प्राप्त भएको छ । एक सामुहिक छलफलमा आमसहमतिको प्रयासलाई उच्च प्राथमिकतामा राख्दै केही उम्मेदवारले विभिन्न पदको लागि आफ्नो नाम सार्वजनिक गरिसकेका छन् । बेल्जियममा चित्र सुबेदी, अनुजा प्रधान, पदम गुरुङ र कमल पन्थीले आगामी एनआरएनए बेल्जियमको अध्यक्षमा, खड्क केसी वरिष्ठ उपाध्यक्षमा, त्यस्तै समाजसेवीद्वय अर्जुन गुरुङ र गङ्गा शर्माले आइसीसी तथा युवा अभियन्ता तीर्थराज धमलाले महासचिवमा उठ्ने घोषणा गरिसकेका छन् । यसैगरी कर्ण अधिकारिले ३० जुलाईमा एक प्रेसमिट गर्दै सचिव पदको लागि आफ्नो दाबी पेस गरेका छन् भने अध्यक्षमा सुवास जोशीको समेत विशेष चर्चा रहेको देखिन्छ ।