बेडरूमसम्म पुगेको यूट्युब पत्रकारिता !

बेडरूमसम्म पुगेको यूट्युब पत्रकारिता !


■ राजन घिमिरे

सायद अब सेलिब्रेटीका बारेमा यूट्यूबरहरूको प्रश्न या चासो सकियो जस्तो छ । सेलिब्रेटीहरूलाई सोधिने प्रश्न तथा तिनका बारेमा राखिने जिज्ञासा सकिएरै होला यतिबेला यूट्युबरहरू सेलिब्रेटीलाई छोडेर उनीहरूका छिमेकी, काम गर्ने मान्छे, सवारीचालक, काका, मामा लगायतका आफन्तहरूको पछि लागेर अन्तरवार्ता गर्न ब्यस्त देखिन थालेका छन् ।

फलानो-फलानीका आमाबुबा यसो भन्छन् ! फूपू फूपाजु यसो भन्छन् ! दाजुभाइ यसो भन्छन् ! यस्तै यस्तै ।

यति मात्र नभई ‘फलानोको घरमा विहान दुध ल्याउने यसो भन्छन्’ भन्दै यस्तो प्रश्न गरेको सुनिन्छ- ‘…दुध कति ग्लास खानुहुन्छ ? कुन कुन समयमा खानुहुन्छ ? तपाईंलाई मालिकले अहिलेसम्म गाली गर्नुभएको छ कि छैन ?’ यस्तै प्रश्न र उदेकलाग्दा विषय । युट्युबमा कस्ता पात्रलाई प्रस्तुत गर्ने या नगर्ने भन्नेमा कुनै भाँती नै छैन । ‘दर्शकले यस्तै खोज्छन्, यस्तै मनपराउँछन् र हेर्छन् त के गर्ने ?’- यूट्युबरहरूको दाबी रहन्छ । जबर्जस्ती यस्तो हेराइएको हो किँ दर्शकहरूले चाहेकै यस्तै हो ? यसमा भने उनीहरूको चित्तबुझ्दो जवाफ छैन ।

हुँदा-हुँदा अब त सेलिब्रेटीका ड्राइभरको पनि अन्तरवार्ता आउन थालेको छ । अनि ड्राइभरलाई यस्तो प्रश्न गरिएको हुन्छ- ‘गाडीमा कस्तो गीत गाउनुहुन्छ ? कुन सिटमा बस्नु हुन्छ ? कसरी बस्नुहुन्छ ? बढी कोसंग कुरा गर्नुहुन्छ ? उहाँको गाडीमा क(कसले लिफ्ट पाएका छन् ? बढी मात्रामा कहाँ पुग्न रुचाउनुहुन्छ ?’

वाह… क्या दामी छ हाम्रो यूट्युब पत्रकारिता !

त्यो सेलिब्रेटीको करियर, संघर्ष, समर्पण र निरन्तरताको बारेमा केही कुरा छैन, अनेक आल्टुफाल्टु झैँ लाग्ने विषयमा सवाल गरिन्छ र यो श्रृंखला लामै चल्ने देखिँदैछ ।

धेरै बिक्ने या चल्ने नाममा पेशा, धर्म र दायरालाई नै बिर्सने त ? कता जाँदैछौँ हामी ? दामका लागि नाम, स्वाभिमान, विश्वास र उचाई त घटाइरहेका त छैनौँ ? हुँदा-हुँदा अब त हाम्रो यूट्यूब पत्रकारिता सेलिब्रेटीको बेडसम्म पुगिसकेको छ । शीर्षक हुन्छ- यस्तो छ फलानोको बेडरूम !… फलानोको बेडरूममा पुग्दा जे देखियो…, आदि ।

होइन.. के देखिँदो रहेछ बेडरूममा ? शीर्षक पढ्दा नै तीनछक्क हुनुपर्ने ! कस्तो हो यो यूट्युब पत्रकारिता ? यसरी यो विधा फष्टाइरहेकै बेला एकतिर आवाज उठ्न थालेको सुनिन्छ- ‘युट्यूब विधालाई पनि मुलधारको पत्रकारिताको मान्यता हासिल हुनुपर्छ ।’ माग उठ्नु अस्वाभाविक छैन, तर कस्तो मान र मान्यता स्थापित गर्ने भन्ने कुराको आधार आफैले निर्माण गर्ने हो । तसर्थ, यहाँनेर ठट्यौलो हिसाबले भए पनि भन्नैपर्ने हुन्छ कि तपाईंहरु क्यामेरा र बुम बोकेर बेडरूमसम्म त पुग्नुभयो, योभन्दा अगाडि बढेर ‘बेडमा यसो गर्छन्, उसो गर्छन्’ भनी प्रत्यक्ष प्रसारण गर्दैछौँ भनेर चाहिँ कृपया सूचना जारी नगरिदिनुहोला है… !