यसरी मारिएका थिए कुमार पौडेल

यसरी मारिएका थिए कुमार पौडेल


■ अमित साह

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रदेश नम्बर २ का इन्चार्ज कुमार पौडेल प्रहरी मुठभेडमा मारिएको प्रहरीले दाबी गरे पनि उक्त दाबी झुटो रहेको लगातार पुष्टि हुँदै छ । लालबन्दी–१ स्थित लखनदेहीनजिककै जङ्गलमा चारजनाको समूहमा आएका व्यक्तिहरूले गस्तीमा रहेका प्रहरीलाई लक्षित गरी गोली चलाएकोले सुरक्षाकर्मीको जवाफी प्रहारमा कुमार पौडेल मारिएका सर्लाही प्रहरीले दाबी गर्दै आएको छ । तर, यो दाबी बनावटी रहेको आशङ्का गरिँदै आएको छ भने सरोकारवाला कतिपयले प्रहरीले सरासर झुटो बोलेको दाबी गर्दै आएका छन् ।

यसैक्रममा प्राप्त पछिल्लो जानकारीअनुसार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई शुरुमा हात भाँचिदिएको र पछि क्रूरताका साथ हत्या गरेको रहस्योद्घाटन भएको छ ।
सरकारद्वारा प्रतिबन्धित नेकपाका कार्यकर्ताले देशभर बम विस्फोट र चन्दा असुली गर्न थालेपछि आतङ्कित भएको सरकारका गृहमन्त्री रामबहादुर थापाले विप्लव र उनका सहकर्मी नेता–कार्यकर्ताहरूलाई पक्रिएर कारबाही गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई विशेष निर्देशन दिएका थिए । सूत्रका अनुसार यसपछि सातै प्रदेशका प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको थियो । तिनलाई पक्रिएर ‘काम देखाउने’ लालसा पनि कैयन प्रहरीकर्मीमा बढेको बताइन्छ ।

प्रदेश नम्बर २ का नेकपा इन्चार्जसमेत रहेका कुमार पौडेल सर्लाहीलगायत आसपासका जिल्लामा चन्दाअसुली, बम विस्फोटलगायत गतिविधिमा सक्रिय रहेको सूचना प्रहरीले पाएको र उनमाथि निकै कडा निगरानी शुरु गरिएको थियो । कुमार पौडेलको हत्या हुनु केही दिनअघि मात्र प्रहरीको उच्च तहबाटै सो पार्टीका प्रदेश नम्बर २ का नेता तथा कार्यकर्ताहरूको नाम र तस्बिर प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर पठाइएको थियो । त्यसमा कुमारको नाम र तस्बिर पनि थियो । कुमार पौडेललाई प्रदेश नम्बर २ का तत्कालीन डीआईजी हरि पालको नेतृत्वमा खटिएको एसपी सन्तोष खड्काको टोलीले प्रकाउ गर्न खोज्दा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरीले सूचना चुहाएका थिए, फलतः प्रहरी नियन्त्रणमा नआई कुमार भाग्न सफल भएका थिए । यसबाट कुमार पौडेल र लालबन्दीका प्रहरीबीच ‘राम्रो’ सम्बन्ध रहेको देखिन्छ ।

प्रहरी महानिरक्षीक सर्वेन्द्र खनालको सोझो कमाण्डमा खटिएको प्रहरी टोली ‘स्पेसल ब्युरो’का प्रहरी निरीक्षक किसनदेव साहले विशेष सूचनाको आधारमा गत असार ६ गते (२०१९, २१ जुन) कुमार पौडेल बिहानै घरबाट निस्किएर सर्लाहीको राजभत चोकनजिककै पैदल हिँडिरहँदा बिहान ८–९ बजे प्रहरी प्रधान कार्यालयबाट खटिएक प्रहरी निरीक्षक किसनदेव साह, हवलदार सञ्जीवकुमार झा, भगवान राय यादव, शिव कुमार, सइ राम यादवलगायतको टोलीले निहत्था पक्राउ गर्न सफल भएको थियो ।

यसरी नियन्त्रणमा आएका पौडेललाई सर्लाहीको लालबन्दी–१ स्थित लखनदेहीनजिककै पुऱ्याएर कुटपिट गरी हात भाँचिएको प्रहरीनिकट सूत्रको दाबी छ । सूत्रका अनुसार पौडैलको दाहिने हात भगवान राय यादवले भाँचेका हुन् । यसपछि कुटपिट गरीकन पौडेललाई गोली हानी हत्या गरेको स्रोतले दाबी गरेको छ । कुमार मुठभेडमै मरेको भन्ने देखाउन त्यसपछि मृत अवस्थाका कुमारको शवअगाडि एक रिभल्भर र चार राउन्ड गोली राखिएको थियो ।