‘हेग’को कठघरामा उभिनु ‘हिरो’ बन्नु हो ?

‘हेग’को कठघरामा उभिनु ‘हिरो’ बन्नु हो ?


कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले वर्ष दिन काट्नै लाग्दा गृह मन्त्रालयले आफ्नो वार्षिक कार्यसमीक्षाका साथै भावी योजनाका बुँदाहरू सार्वजनिक गऱ्यो । वर्षभरिको कामबारे धारणा राख्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले आफ्नो मन्त्रालयले वर्ष ०७५/७६ मा लिएको जिम्मेवारी कार्यान्वयनमा सफलता हासिल गरेको दाबी गरे । सफलताको बखानकै क्रममा उनले निर्मलामाथि भएझैँ बलात्कार र हत्याका घटना ‘हिजो पनि भएको, आज पनि चलिरहेको र भोलि पनि रहने’ अभिव्यक्ति दिए । सो प्रकरणसँग जोडिएको वास्तविक अपराधी निर्क्योल हुन नसकी सरकार बदनाम बनिरहेको परिवेशमा उनले बदनामीको थप खुराक पस्किदिए, नेपालमा बलात्कार हुन्थ्यो, हुँदै छ र भइरहनेछ भन्ने आसय प्रकट गरेर ।

कुनै पनि मुलुकमा त्यहाँको समाज, विकास तथा आर्थिक अवस्था, नागरिकका सोच–स्वभाव, शासन वा शासकीय अवस्था आदिका आधारमा अपराधका घटना घटिरहेका हुन्छन् । अपराधका अनेक रूपमध्ये बलात्कार एक यस्तो अपराध हो जसलाई विश्वका कस्तै अराजक वा शान्ति–सुरक्षाको मामलामा बदनाम मुलुकले पनि स्वाभाविक ठानेर आँखा चिम्लिएको पाइँदैन । नेपालजस्तो धार्मिक तथा सामाजिक मूल्य–मान्यता वा परम्परापरायण मुलुकमा त यसको गुञ्जायस रहने कल्पना गर्नै सकिन्न । यस्तोमा गृह मन्त्रालयको दायित्व बोकेका पात्रबाट अनर्थपूर्ण सन्देश प्रवाहित हुुने गरी हल्काफुल्का अभिव्यक्ति सार्वजनिक गरिनुलाई घोर विडम्बनाको विषयको रूपमा चित्रण गरेर मात्र पुग्दैन । गृहमन्त्री थापाको उक्त अभिव्यक्तिको अन्तर्यमा वक्ताको मात्र नभई सिङ्गै मुलुकको छवि धुलिसात तुल्याउन सक्ने सामर्थ्य लुकेको छ । गृहमन्त्री हुनुको नाताले बलात्कार र हत्या मात्र नभई जुनकुनै प्रकारका अपराधबाट मुक्त तुल्याउन आफू प्रतिबद्ध रहेको विश्वास उनले दिलाउन सक्नुपर्थ्यो, कमी–कमजोरी स्वीकार गरी त्यसैबाट पाठ सिकेर अघि बढ्ने प्रतिबद्धता जनाउन हिच्किचाहट दर्शाउनु हुँदैनथ्यो । काम देखाउने दम नभए पनि गर्छु भन्ने हिम्मत देखाउनुपर्ने थियो । व्यवहारमा अनेक हिसाबले चुक्दै आएका गृहमन्त्री थापा अभिव्यक्तिमा समेत नराम्रोसँग चुके, चिप्लिए । देश यतिबेला कस्ता सोच र क्षमता बोकेका पात्रहरूबाट डोहोरिँदै छ भन्ने एक ज्वलन्त उदाहरण हो यो ।

उदाहरण फगत गृहमन्त्री थापा होइनन्, थापासम्बद्ध राजनीतिक दलका यावत् पात्र र शीर्षतम् नेताहरू नै अत्यन्त हलुका, गैरजिम्मेवार तथा देश र जनताप्रति अनुत्तरदायी प्रतीत हुँदै आएका छन् । यहाँनेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहअध्यक्ष पुष्पकमल दाहालको एउटा ताजा अभिव्यक्तिको प्रसङ्ग कोट्याउनु सान्दर्भिक हुनेछ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मार्फत मानवअधिकार उल्लङ्घनका अपराधहरूमा न्याय दिलाउने प्रतिबद्धता पूरा गर्न नेपाल असफल भएको भनी अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले निष्कर्ष सार्वजनिक गरेकै दिन दाहालले बडो गर्वपूर्वक उद्घोष गरे– ‘मलाई हेग पुऱ्याएर देखाऊ, झन् हिरो हुनेछु !’

नेपालको सङ्क्रमणकालीन न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायबाट यसरी अहिलेसम्मकै कडा प्रहार भएको अवस्थामा दाहालले यसरी हल्का अभिव्यक्ति दिनु विडम्बनापूर्ण छ । हजारौँले ज्यान गुमाउनुपरेको द्वन्द्वको घटनाका मूल पात्र, जसको काँधमा द्वन्द्वपीडितलाई न्याय दिलाउने र मुलुकलाई शान्तिको मार्गमा हिँडाउने सघन दायित्व पनि रहेको छ, यस तहका नेताले अन्तर्राष्ट्रिय स्तरको अपराधमा संलग्न पात्रलाई उभ्याइने अदालतमा पुग्ने सन्दर्भलाई ‘गर्व’को विषय ठान्नु दुखदाश्चर्य हो । ‘हेग’मा उभिन पाए आफूलाई संसारले चिन्ने थियो भन्ने मनसुवा प्रकट गर्दै गर्दा दाहालले एउटा अत्यन्त संवेदनशील पक्षचाहिँ चटक्कै बिर्सिए । ‘हेग’मा उभिन पाउनु उनका लागि ‘गर्व’को विषय बने पनि नेपालका एक उच्च तहका नेता अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिँदै गर्दा विश्व–समुदायबीच नेपालको इज्जत कहाँ रहला ? वास्तवमा त्यतिबेला मुलुक ठूलो बदनामी व्यहोर्न विवश हुनेछ भन्ने हेक्का उनले राख्नुपर्ने हो ।

तथापि, दाहालको ‘गर्वानुभूति’को निम्ति सिङ्गै नेपालले आफ्नो इज्जत लिलाम गरिदिन नमिले पनि यदि ‘हेग’मा पुग्नैपर्ने उनको कर्म हो भने त्यो रोकेर पनि रोकिन्न । ‘हेग’ पुगे ‘हिरो’ बनिने उनको अभिव्यक्ति अन्तःष्करणको बोली हो या भयग्रस्त मानसिकताको उपज, योचाहिँ विश्लेषणको बेग्लै पाटो हो ।