मन्त्रिमण्डल पुनर्गठनको तयारी

मन्त्रिमण्डल पुनर्गठनको तयारी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभागहरूको विषयलाई लिएर उत्पन्न विवाद लम्बिएका कारण मन्त्रिमण्डल पुनर्गठनमा विलम्ब हुन पुगेको छ । बालुवाटार सूत्रले जनाएअनुसार यही साउनको दोस्रो साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका थिए । तर, पार्टी एकीकरण प्रक्रियालाई अन्तिम रूप दिने सिलसिलामा भएको सचिवालय बैठक पार्टी स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा उत्पन्न विवाद लम्बिएपछि मन्त्रिमण्डल पुनर्गठन केही दिन पछि सरेको हो ।

भनिन्छ, प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पार्टीले मदन भण्डारीद्वारा स्थापित जनताको बहुदलीय जनवाद अर्थात् ‘जबज’लाई मार्गदर्शक सिद्धान्तका रूपमा यथावत् राख्न चाहन्छन् । ईश्वर पोखरेललाई पार्टी स्कुल विभागको जिम्मेवारी दिइँदा ‘जबज’को पक्षमा वातावरण बन्ने विश्वासका आधारमा केपीले उक्त विभाग पोखरेलको जिम्मा लगाउने सोच बनाएका थिए । तर, प्रचण्ड केपीको यो प्रस्तावसँग सहमत भएनन् ।

प्रचण्ड ‘जबज’को अवधारणा विस्थापित गरेपछि मात्र आफू पूर्ण रूपले सुरक्षित हुने ठान्दछन् । त्यसमाथि ईश्वर पोखरेललाई प्रचण्ड आफ्नो ‘दुस्मन’ ठान्छन् र, निर्वाचित महासचिव ईश्वरबाट खोसेर विष्णु पौडेललाई महासचिव बनाउन पनि प्रचण्डकै भूमिका निर्णायक थियो । पार्टीको विचार एवम् नीति निर्माणमा सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्कुल विभाग ईश्वरलाई सुम्पन प्रचण्ड कदापि तयार हुने स्थिति देखिएको छैन । स्कुल विभाग ईश्वर पोखरेलबाहेक अरू जोकसैलाई दिन सकिने सोच उनले बनाएको बुझिन्छ ।

बैठकका क्रममा प्रचण्डले एकपटक प्रवक्ता एवम् पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई स्कुल विभाग दिन प्रस्ताव गरे । केपीसँग नारायणकाजीको दूरी बढाउने र उनलाई आफ्नो निकट तुल्याउने चालबाजीअनुरूप प्रचण्डले नारायणकाजी श्रेष्ठको नाम केपी समक्ष प्रस्ताव गरेका थिए । त्यसलगत्तै प्रचण्डले सोही जिम्मेवारीका निम्ति झलनाथ खनालको नाम अघि सारे । त्यसमा पनि सहमति बन्न सकेन । केपी ओली ‘जबज’विरोधीको हातमा स्कुल विभाग सुम्पने पक्षमा छैनन् । ईश्वर पोखरेललाई उक्त जिम्मेवारी दिन नसकिएमा अन्ततः केपी आफैँले स्कुल विभागको जिम्मेवारी लिने सम्भावना अधिक छ ।

सचिवालय बैठकले हाल विवादित विषयको टुङ्गो लगाएपछि मन्त्रिमण्डल पुनर्गठन गरिने बुझिएको छ । स्वास्थ्य परीक्षणका निम्ति प्रधानमन्त्री सिङ्गापुर जानुअगावै पुनर्गठन गरिने हो या फर्किएर आएपछि गर्ने हो सो यकिन भएको छैन । तर, अब चाँडै नै मन्त्रिमण्डल पुनर्गठनचाहिँ हुने भएको छ । मन्त्रिमण्डलमा नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लीलानाथ श्रेष्ठलगायत केही नयाँ अनुहारहरू समेटिने बुझिएको छ । युवराज खतिवडा, मातृका यादव, विना मगर, रघुवीर महासेठ, चक्रपाणि खनाल र गोकर्ण विष्टलगायतको कामबाट प्रधानमन्त्री अत्यन्त असन्तुष्ट रहेकोले उनीहरू अबको पुनर्गठनबाट हटाइने सम्भावना छ । केही मन्त्रीहरूको भने विभाग परिवर्तन हुन सक्ने बालुवाटार सूत्रको भनाइ छ ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डबाट भएको षड्यन्त्र असफल तुल्याएपछि केपी ओलीको मनोबल बढेको पाइएको छ । पुनर्गठनले सरकारलाई प्रभावी र गतिशील बनाउने विश्वास सम्बद्ध पक्षले गरेको छ ।