कर्ण अधिकारीद्वारा सचिवमा उम्मेदवारी घोषणा

कर्ण अधिकारीद्वारा सचिवमा उम्मेदवारी घोषणा


■ डिल्ली अम्माई, बेल्जियम

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत विभिन्न संघ संस्थाको अनुभव बटुलेका कर्णबहादुर अधिकारीले एनआरएनए एनसीसी बेल्जियम (२०१९–२०२१) को लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

व्यवसायी तथा सामाजिक अभियन्ता कर्ण एनआरएनए बेल्जियममा एक होनाहार सक्रिय युवाका रुपमा चिनिन्छन् । एनआरएनए तथा सामाजिक परोपकारको क्षेत्रमा उनले अहम भूमिका निभाउँदै आएका छन् ।

सामाजिक अभियान हुन् वा समस्याका कुरा, कर्ण इमान्दारीपुर्वक आर्थिक, नैतिक र भौतिक सहयोगमा हरदम तत्पर रहन्छन्। उनले योपटक सामाजिक छाता संस्थाको सचिव भएरै आफ्नो सेवाभावलाई संस्थागत गर्न खोजिरहेका हुन् ।

‘एकल सेवा भन्दा संगठित सेवाले महत्वपूर्ण भूमिका निभाउन सक्छ भने प्रवासी नेपालीहरुको छाता संगठन एनआरएनए बेल्जियममा हामीले नेतृत्व गर्न किन नसक्ने ?’ उनले कुराकानीको क्रममा आफ्नो कुरा प्रष्ट राख्दै प्रतिप्रश्न गरे। आफ्नो उम्मेदवारी घोषणाको लागि आयोजित कार्यक्रममा उनले भने, ‘अब इमान्दार सेवाभाव भएका सम्पूर्ण एनआरएनहरु एकजुट भएर नेतृत्व गर्ने बेला आएको छ। हाम्रा सबै अग्रजहरुको आत्मबलमा सहायक भूमिकाबाट शुरु गरेर क्रमशः यो संस्थाको नेतृत्व गर्ने मेरो धोको छ । अर्कोपटक उच्च नेतृत्वको लागि दाबी गर्नसक्ने हैसियत बनाउन म योपटक सचिवमा उम्मेदवारी दिँदै छु। सकेसम्म सहमति गर्नेतिर मेरो पहल हुने छ, नभए प्रजातान्त्रिक पद्दति सहर्ष स्वीकार गर्ने छु।’

उम्मेदवारी घोषणाको अन्तमा उनले सम्पूर्ण बेल्जियमवासी नेपालीहरुलाई संकेत गर्दै भने, ‘मैले रहर गरे भनेर मात्र पुग्दैन, कृपया सबैले मेरो पृष्ठभूमि हेरिदिनुहोस् । मैले गरेको मानव सेवा र सामाजिक भावना बुझिदिनुहोस् र त्यसको सम्मान गरिदिनुहोस्। सायद तिनै तथ्यहरुले तपाईंहरुलाई निर्णय गर्न सहयोग पुऱ्याउने छ। मेरो विनम्र अनुरोध के पनि छ भने छाता संगठनलाई राजनीतिका तुसहरु साध्ने मोर्चा नबनाइदिनुहोला ! यो नेपालीको मनमुटु जोड्ने प्रवासी नेपालीहरुको आत्मिय बगैँचा बनिरहोस् ।’