मस्तिष्कमा विषादी



■ बबिता बस्नेत

जीवनमा सबैभन्दा ठूलो काम आफूले आफैँलाई सम्हाल्ने हो । यदि कुनै मानिस विचलित भयो भने उसलाई अरूले जति सम्हाल्न खोजे पनि कोसिस सफल हुँदैन । मानिस स्वयम्मा प्रकृति हो, प्रकृतिमा विष र अमृत दुवै छ । जडीबुटीका रूपमा जीवनबुटीहरू छन् र विषादीयुक्त झारपात पनि छन् । मानिसमा कसैको जीवन बचाउन सक्ने शक्ति छ, कसैलाई मानसिक रूपमा जिउँदै र भौतिक रूपमा मार्न सक्ने ताकत पनि छ ।

राम्रो गर्ने कि नराम्रो भन्ने कुरा मस्तिष्कले निर्देश गरिरहेको हुन्छ । मस्तिष्कमा अमृत भरिएको मानिसले राम्रो गर्छ, विष भरिएको मानिसले नराम्रो गर्छ । मानिसले आफ्नो सोचअनुसारको व्यवहार गरिरहेका हुन्छन् । सकारात्मक सोच भएकाहरूले अरूको राम्रो सोच्छ, नकारात्मक सोच भएकाले खराब सोच्छन् ।

कतिपय कुराहरू सोचमा मात्रै सीमित रहँदा सम्बन्धित व्यक्ति स्वयम्लाई बाहेक अरूलाई फरक पर्दैन, तर व्यवहारमै लागू हुन थालेपछि भने आफूवरिपरिका मानिसहरूलाई मात्र नभएर सम्पूर्ण प्राणी जगत् र संसारलाई नै फरक पारिदिन्छ । सम्बन्धित व्यक्ति कुन हैसियतमा छ भन्ने कुराले फरक पार्छ । नितान्त व्यक्तिगत जीवन बिताइरहेको साधारण मानिसको सोच, प्रधानमन्त्रीको रूपमा कुनै नेताको सोच र विश्व शक्तिराष्ट्रका राष्ट्रपतिले सोच्ने कुराले पार्ने प्रभावको अन्तर ठूलो हुन्छ । साधारण मानिसको सोचले व्यक्ति र उसको परिवारलाई मात्र फरक पार्छ, प्रधानमन्त्रीको सोचले राष्ट्रलाई र शक्तिराष्ट्रका प्रमुखको सोचले विश्वलाई ।

जतिसुकै ठूलो पदमा रहेका मानिस हुन अरूको बारेमा खराब सोच्छन् र व्यवहारमा अरूलाई हानि हुने काम गर्छन् भने ती असफल व्यक्ति हुन् । मस्तिष्कमै विषादी भरिएपछि त्यो भान्सामा मात्र सीमित रहँदैन, बेडरुम, परिवार, समाज र अन्ततः मुलुकलाई नै त्यसले असर गर्छ ।

अहिले तरकारी र फलफूलमा विषादीको चर्चा धेरै छ । केही समयअघिसम्म कृषि व्यवसायमा हुने मानिसहरूलाई अन्य पेसा–व्यवसायमा हुनेभन्दा फरक र इमानदार मानिन्थ्यो । अहिले विभिन्न पेसा–व्यवसायमा रहेका हामीमध्ये धेरैजसो किसानकै सन्तान हौँ । खेती–किसानीका बीच हुर्कंदै गर्दा हाम्रो पुस्ताले तरकारीमा विषादी हाल्ने भन्ने कुरा सोचेकै थिएन । समयक्रममा आँखैअगाडि अहिलेको अवस्था आउला भन्ने ठानिएको थिएन । आफ्नो परिवार र छिमेकीले बारीमा विषादीयुक्त तरकारी फलाएर बेचेको देख्दै हुर्किरहेको पुस्ताले भोलि विषादीबिनाको तरकारी फलाउने कल्पना नगर्ला । किनभने उसको मस्तिष्कमै विषादीले ठाउँ लिइसकेको छ । जसले अहिले त्यस प्रकारको खाद्य बाली उत्पादन गरिरहेका छन्, तिनले पनि विष ल्याएर घोल्नुअघि आफ्नै मस्तिष्कमा विष आयात गरेका हुन् ।

माइन्डले निर्देश नगरी कुनै पनि कुरा शरीरले गर्न सक्दैन । विषादी किन्नुअघि आफ्नो मस्तिष्कलाई विषादीयुक्त बनाउनुपर्ने हुन्छ । विषादीयुक्त खानेकुराको असर हेर्न अस्पतालहरूमा पुग्नुपर्छ । हरेक अस्पतालहरू खचाखच छन् । ब्लडप्रेसर एउटा निश्चित उमेर पूरा भएपछि लाग्ने मानिन्थ्यो, अहिले २१–२२ वर्षका युवाहरू प्रेसरको औषधि खानुपर्ने बाध्यतामा छन् । सुगर नहुने पारिवारिक सदस्य भएको घर भेट्न गाह्रो छ । क्यान्सर, मुटुको रोग, दम हुनका लागि मानिसले चुरोट खानुपरेन हरियो सागपात र फलफूल खाए भयो । बिरामी हुँदा खानुपर्ने फलफूल र तरकारीले नै रोग निम्त्याउने भएपछि खानेचाहिँ के हो ? भेउ पाउन गाह्रो भइरहेको छ ।

खानेकुरामा राखिएको विषादीले मानिसको स्वास्थमा प्रत्यक्ष असर गरेको देखिए पनि यहाँ विषादी खानेकुरामा मात्र सीमित छैन । विभिन्न पेशा, व्यवसायमा भएका मानिसको सोचमा विषादी मिसिएका कारण अहिले धेरै सर्वसाधारणले दुःख पाइरहेका छन् । स्वास्थ्य, शिक्षा, अर्थ, ठेक्कापट्टा, राजनीति, मिडिया कुनै क्षेत्र बाँकी छैन जहाँ विषादी नमिसिएको होस् । डाक्टरहरूको सोचमा अमृत भरिएको भए एम्बुलेन्सदेखि ल्याबसम्मलाई बिरामीबापतका कमिसन दिइने थिएन । ठेक्कापट्टावालाको माइन्डमा विषादी नभरिएको भए उद्घाटन गर्नै नपाई पुल भत्किने थिएन । शिक्षा, राजनीति सबैतिर यो लागू हुन्छ ।

हरेक क्षेत्र, पेसा, व्यवसायीको मस्तिष्क विषरहित भएको भए अहिले मानिसको जीवनमा जे–जति झन्झट छ ती हुने थिएनन् । जीवन आफ्नै दुःखसुखमा शान्तिपूर्वक लगातार आफ्नै रफ्तारमा चल्नु आफैँमा सफलता हो । सफलताको अर्थ पदीय हैसियत नभएर अरूलाई राम्रो गर्न सक्नु हो । जतिसुकै ठूलो पदमा रहेका मानिस हुन अरूको बारेमा खराब सोच्छन् र व्यवहारमा अरूलाई हानि हुने काम गर्छन् भने ती असफल व्यक्ति हुन् । मस्तिष्कमै विषादी भरिएपछि त्यो भान्सामा मात्र सीमित रहँदैन, बेडरुम, परिवार, समाज र अन्ततः मुलुकलाई नै त्यसले असर गर्छ ।

रामायणमा राम, लक्ष्मण, भरतहरू गुरुकुलमा रहेका बेला गरिएका प्रश्नोत्तरहरू बडो ज्ञानबद्र्धक छन् । रामले गुरु वशिष्ठलाई सोध्छन्– गुरु, पाप के हो ? पुन्य के हो ? जवाफमा गुरु भन्छन्– कसैलाई पीडा दिनु अधर्म हो, पाप हो । कसैलाई खुसी दिनु धर्म हो ।

पहिलाका मानिस सबै राम्रै थिए भन्न मिल्दैन, तर पापधर्मको ख्याल गर्ने हुँदा अहिलेभन्दा फरक अवस्था भने थियो । आफ्नै समुदायलाई दुःख, चोट पुऱ्याउने कोही छ भने त्यो मानिस नै हो । मानिसलाई विषादीरहित बनाउनका लागि हुर्काइनै प्रमुख कुरा हो । हामीले आफ्ना बच्चाहरूलाई कस्तो वातावरणमा हुर्काइरहेका छौँ ? विद्यालयले कसरी शिक्षित गरिरहेका छन् ? बालबालिकालाई शिक्षा दिने शिक्षक–शिक्षिकाको मानसिकता कस्तो छ ? यी सबै एक–अर्कामा अन्तरसम्बन्धित छन् । मानसिकतामा परेको खाल्डाखुल्डी पुर्नका लागि नैतिक शिक्षाको जरुरी छ । हजारौँ वर्षअघिका गुरुकुल शिक्षा अहिलेको पुस्तामा लागू गर्न पाए सोचमा फरकपन आउने थियो कि जस्तो लाग्छ ।

आध्यात्मिक चेतनादेखि योग, ध्यान, सूर्य बन्दनाले शरीर र मनमा पार्ने प्रभाव हुँदै पाप के हो, धर्म के हो ? जन्म, मृत्यु, साक्षीभावलगायतका कुराहरू पाठ्यक्रमभित्र पर्थे । रामायणमा राम, लक्ष्मण, भरतहरू गुरुकुलमा रहेका बेला गरिएका प्रश्नोत्तरहरू बडो ज्ञानबर्द्धक छन् । रामले गुरु वशिष्ठलाई सोध्छन्– गुरु, पाप के हो ? पुन्य के हो ? जवाफमा गुरु भन्छन्– कसैलाई पीडा दिनु अधर्म हो, पाप हो । कसैलाई खुसी दिनु धर्म हो । तत्कालीन अवस्थामा व्याख्या गरिएको धर्म र अधर्म न्याय, अन्यायसँग सम्बन्धित छ । कसैलाई दुःख दिनु, पीडा दिनु अन्याय हो, सुख र खुसी दिनु न्याय हो ।

संस्कृतमा एउटा वाक्य छ, ‘अहं ब्रम्हास्मी’ यसको अर्थ हो, म नै ब्रह्माण्ड हुँ । राम्रो नराम्रो सबै आफैँभित्रै छ । आफूभित्रको संसारलाई विषाक्त बनाउने या अमृतमय बनाउने आफ्नै हातमा छ । विषादीपूर्ण मस्तिष्कलाई एकैपल्ट खाली गरेर अमृत भर्न गाह्रो होला तर सबैले चाहने हो भने असम्भव भने छैन । मुलुकमा नयाँ वातावरण सिर्जनाका लागि आत्मजागरणको अभियान आवश्यक छ । असल मानिस बनाउने जागरण अभियान गर्न बाहिरबाट कोही आउनेवाला छैनन्, अरू कसैले गरिदिएर हुने कुरा पनि होइन । हामी जो छौँ उसैले गर्ने हो, आफैँले गर्ने हो । सबैभन्दा पहिले आफ्नो मस्तिष्कलाई विषादीमुक्त बनाऔँ, सुरुवात आफैँबाट गरौँ ।

प्रतिक्रिया