कलकत्ता पुगेका पूर्वप्रधानमन्त्रीले भने- ‘भानुभक्तले नेपाली मनलाई जोडेका छन्’

कलकत्ता पुगेका पूर्वप्रधानमन्त्रीले भने- ‘भानुभक्तले नेपाली मनलाई जोडेका छन्’


पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएर रहेका नेपालीलाई भाषासाहित्य र संस्कृतिका माध्यमबाट जोडेको बताएका छन् । भारतको कलकत्तामा रहेका नेपाली भाषीलाई भानुले जोड्न सफल भइरहेको तर्क उनले गरेका हुन् ।

नेपाली जनकल्याण समिति कलकत्ताले आइतबार (१२ साउन) आयोजना गरेको २०६औं भानु जयन्ती समारोहमा २०औं साहित्यिक पत्रिका ‘विहानी’को विमोचनपछि साहित्यकार एवं पूर्वप्रधानमन्त्री चन्दले भानुभक्तको साहित्यिक योगदानको चर्चा गरेका हुन् । उनले भने, ‘भानुका कारण नेपालीबिचको सद्भावना र भातृत्व बढेको छ भने कलकत्तावासीले नेपालीपन बचाएर राखेका छन् । उनकै कारण सांस्कृतिक र भाषिक एकता पनि कायम छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले भानुको लेखनमा दार्शनिक चेतना र भक्ति धारा पर्याप्त रहेको बताए । ‘आदिकवि भानुभक्त आचार्य र उनको कवित्व’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै उनले भने, ‘भानुको सिर्जनात्मक लोकप्रियताले विश्वभर छरिएर रहेका नेपालीलाई एकताको सूूत्रमा बाँध्ने काम पनि भएको छ ।’

समारोहमा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख डा. देवी नेपालले कलकत्तामा बस्ने नेपाली साहित्यकारलाई सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । उनले छन्द कविता लेखनलाई प्राथमिकता दिँदै प्रत्येक मान्छेभित्र मूल फुटाउन सकिने बताए । उनले भने, ‘प्रत्येक मान्छेभित्र मूल छ तर यस्तै प्रशिक्षणले त्यो मूल फुटाउन सक्छ ।’ विहानीका सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तको रामायण अनुवादित नभई मौलिक कृति भएको बताए । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले भानु नेपाली भाषा र संस्कृतिका संवाहक भएको बताए ।

प्रवासी संघ भारतका प्रमुख सल्लाहकार नारायणप्रसाद होमागाईंले भारतमा संविधानले मान्यता दिए र नेपाली भाषामा पाठ्यक्रम बनाए पनि नेपालीभाषी विद्यार्थीले नेपाली विषय पढ्न नपाएको गुनासो गरे । नेपाली जनकल्याण समितिका सभापति वद्रीविक्रम थापाले कलकत्तामा करिव दुई लाख नेपाली रहेको र यसलाई भानुले जोडेको बताए । बिहानी पत्रिकाका सम्पादक नरविक्रम थापाले कलकत्तामा भानु जयन्ती मनाउन थालेको २० वर्ष र विहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए ।

समारोहमा पूर्वप्रधानमन्त्री चन्द, प्राज्ञद्वय पौडेल र नेपाल, साहित्यकारहरु धर्मराज बराल र डीपी अर्यालका साथै सञ्चार एवं साहित्यकर्मी श्याम रिमाल र गोपीकृष्ण ढुंगानालाई सम्मान गरिएको थियो । डा. सत्यप्रकाश तिवारी, नारायणप्रसाद होमागाई, सहदेव कोइराला, गोपीकृष्ण ढुंगाना, सरोजिनी सिंह, देवी नेपाल, टिकाराम भित्रिकोटी, श्याम रिमाल, पुष्प पराजुली, आशा उपाध्यायलगायतले कविता वाचन गरेका थिए ।