पारिश्रमिक २० लाख ? पत्याउने कुरा गर्नु नि !

पारिश्रमिक २० लाख ? पत्याउने कुरा गर्नु नि !


■ राजन घिमिरे

कुरा २०५० सालतिरको हो । त्यतिबेला महानायकको उपाधि पाइसकेका थिएनन् राजेश हमालले । चलचित्र थियो देउता र, निर्देशक थिए तुलसी घिमिरे अनि निर्माता युवराज लामा । त्यो चलचित्रमा हमालले पारिश्रमिक स्वरूप जम्मा ४२ हजार लिएका थिए । त्यो समयमा ४२ हजार र आजको मूल्यबीच लेखाजोखा गर्ने हो भने करोडौँ हुन सक्छ । तर हमाल र निर्माण युनिटले कहिले हल्ला गरेनन् । अनि यस्तो हौवामाथि विश्वास गरेर आत्मरतिमा पनि रमाएनन् ।

चलचित्रको नाम थियो यो कस्तो प्रेम ? नायिका थिइन् निरूता सिंह ।त्यतिबेला निरूता यति ब्यस्त थिइन् कि उनलाई भ्याइ–नभ्याई थियो । अन्ततः ३ लाखमा निरूताले यो चलचित्र साइन गरिन्, आजभन्दा २० वर्ष अगाडिको कुरा यो ।

२० वर्षअगाडि, त्यतिबेलाको ३ लाखको वजन कति थियो ? सहजै अनुमान लगाउन सकिन्छ । तर निरूताले यो पारिश्रमिकको बारेमा कतै हल्ला गरिनन् र समाचार बनाउन पनि लगाइनन् ।

उनलाई थाहा थियो कि भोलि ३ लाखभन्दा कम पारिश्रमिकमा झर्नु पऱ्यो भने के गर्ने ? दुई दिनको आत्मरतिमा र हौवामा रमाउँदा आफ्नो दीर्घकालीन करियरप्रति धक्का वा असर त पर्दैन ? यस्ता कुरातर्फ सजग थिइन् निरूता र अन्य कलाकारहरू । तर आज, सिनेमा वृत्तमा आफ्नो उचाई, वजन, करिएर र बलियो उपस्थितिको चिन्ता नै छैन कलाकारहरूलाई ?

राम्रा सिनेमा र वजनदार भूमिकातर्फ कलाकारहरूको प्रतिस्पर्धा नभएर कसले बढी पारिश्रमिक लियो ? उभन्दा मैले बढी पारिश्रमिक लिएँ वा लिँदैछु भन्ने जस्ता आडम्बर र आत्मरतिमा प्रतिस्पर्धा हुन थालेको छ । एउटा चलचित्रबाट १५–२० लाख लिएको कुरा गर्छन्, तर वास्तविकता अन्योलमा नै हुन्छ । यति पारिश्रमिक लिएको कुरा सही हो कि होइन ? न त कागजी पुष्टि कतैबाट भएको छ न त प्रमाण नै भेटिएको छ र कसैले देखाउँछ !

अरूलाई देखाउन, सुनाउन र केही मिडियाहरूको हेडलाइन बन्न यस्तो हल्ला पिटाइएको स्पष्ट हुन थालेको छ । १५ लाख र २० लाख लिएको हल्ला पिटाउने नायिकाहको विगतको फिल्मी करिअर र उसले खेलेको फिल्मको लिस्ट हेर्दा झसङ्ग हुनुपर्ने अवस्था छ । किन यसरी सस्तो लोकप्रियता र आत्मरतिको फेद समातिरहेका छन् सोलिब्रटीहरू ? कुरा बुझिसक्नु छैन ।

आज २० लाख लिँदा भोलि यो भन्दा बढी पाउनु पऱ्यो नि होइन र ? कि एउटै चलचित्रमा सीमित हुने ? राम्रो अभिनय, अवार्ड, सम्मान र वाहवाही बढीभन्दा बढी कसरी बढाउने त्यतातिर ध्यान दिएको देखिँदैन । पारिश्रमिकको मामिलामा हौवा पिटाउने अनि आफैं दङ्ग परेर बस्ने ? तर कहिलेसम्म ? २० लाख दिएको र लिएको कानुनी प्रमाण छ ? अहिले त सरकारले ब्यक्तिगत प्यान कार्डको ब्यवस्था गरेको छ । यो कुरा ति हौवा पिटाउनेहरूलाई थाहा छ कि छैन ? आज शानका साथ यति लिएँ र उती लिएँ भन्ने तर पछि नेपाल सरकारले कानुनी दायरामा आउनु प¥यो भनेर दबाब दिँदा भागि–भागि हिँड्ने ? गजबको शैली र संस्कार छ हाम्रा सेलिब्रेटीहरूसँग ?

अब त कलाकारहरूले १० र १५ होइन २० लाखभन्दा कमको कुरा नै गर्न छाडे । कोही १० वर्ष विदेश भासिन्छन् अनि नेपाल आएर महँगो पारिश्रमिकमा फिल्म खेले भनेर समाचार लेख्न लगाउँछन् । को छ मुर्ख त्यस्तो निर्माता ? जुन हिरोलाई आजको पुस्ताले बिर्सिसक्यो, त्यसलाई १० लाख दिएर फिल्ममा लिने ? कुरा पनि थोरै पत्याउने गर्नु नि ? सुषमा कार्कीले पनि १० लाख भन्दा बढी लिइन् रे ? नेपाली सिनेमामा यिनको बजार र क्रेज कत्रो छ ? सबैलाई थाहा छ । तर, यिनी पनि आत्मरतिमै दङ्ग छिन् ।

अहिलेसम्म सिनेमाका दर्शकमाझ हिरोइनको रूपमा राम्रो दर्जा पाउन नसकेकी सुषमाले त गफ दिइन् भने अरूले त नदिने कुरै भएन । आज तपाईंहरूको चुरीपपुरी छ र ‘यति र उति लिएँ’ भनेर मिडियामा समाचार लेखाउन सक्नुहुन्छ । अब आगामी फिल्ममा अहिलेभन्दा कम पनि लिन मिलेन । आज १०, १५ र २० लाखको गफ गर्दा भोलि २० हजारमा झरेको समाचार मिडियामा नआओस्, शुभकामना छ ।