नेपाली महिला समूह (ओमान) अध्यक्षमा मादी गुरूङ

नेपाली महिला समूह (ओमान) अध्यक्षमा मादी गुरूङ


■ आरके श्रीवास्तव, ओमान

ओमानमा विगत ७ वर्षदेखि सञ्चालित संस्था ‘नेपाली महिला समूह ओमान’को चौथो महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । राजधानी मस्कटस्थित अल अजैवा होटल अपार्टमेन्टमा शुक्रबार (२६ जुलाई) समाजले बृहत भेला बोलाई महाधिवेशन समापन गरेको हो ।

महाधिवेशनले मादी गुरूङको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ जसमा तीन जना उपाध्यक्ष रहेका छन् । उपाध्यक्षहरूमा गोमा पाण्डे, शारदा तिवारी र सविता श्रेष्ठ छानिएका छन् ।

यस्तै, महासचिवमा गोमा थापा मगर, सचिवमा गोमा गुरूङ, कोषाध्यक्षमा यमकुमारी मगर र सह–कोषाध्यक्षको जिम्मेवारी कुमारी राईको काँधमा परेको छ ।

समितिका प्रमुख सदस्यहरूमा काशी गुरूङ, विमला सुनुवार, मेनुका बिपि, आस्था गुरूङ र सल्लाहकारमा कुमारी तमाङसहित ३३ जना कार्यसमितिमा समेटिएका छन् ।

नेपाली महिला समूह ओमानका कार्यवाहक अध्यक्ष उमा ढुङ्गानाको सभापतित्व, नेपाली राजदूतावास मस्कट ओमानका श्रम–सहचारी कृष्णकुमारी गौलीको प्रमुख आतिथ्य तथा नेपाली समाज ओमानका भूपू अध्यक्ष गोविन्द गुरूङको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको उदघोषण सुशील पुन विरहीले गरेका थिए । आर्थिक विवरण मादी गुरूङले र प्रगति विवरण का.वा. अध्यक्ष ढुङ्गानाले प्रस्तुत गरेका थिए ।

सो अवसरमा ओमानमा दिवंगत भएका नेपालीहरूको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनटको मौनधारण गरिएको थियोे । कार्यक्रमका प्रमुख र विशिष्ठ अतिथिहरूले संयुक्त रूपामा दिप प्रज्ज्वलन गरी महाधिवेशनको शुभारम्भ गरेका थिए ।

नेपाली राष्ट्रिय गानबाट प्रारम्भ भएको अधिवेशनमा कुमारी राईले स्वागत मन्तव्य राखिन् भने उपस्थित सबैले नयाँ कार्य समितिलाई अगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, विवेकशील नेपाली दल ओमानका अध्यक्ष राजेन्द्र खनाल, अन्तर्राष्ट्रिय साहित्य समाज ओमानका अध्यक्ष सुशील पुन बिरही, प्रवासी नेपाली एकता मञ्च ओमानका उमेश विक, नेपाल मगर संघ ओमानका रूपा पुन मगर, तमाङ समाज ओमानका उपाध्यक्ष विनोद लामा, तमु समाज ओमानका निसेक गुरूङ, नेपाली जनसम्पर्क समिति ओमानका सभापति सालिकराम चापागाईं, दलित एकता संजाल ओमानका अध्यक्ष सुरेश बराइली, गुल्मी सेवा समाज ओमानका अध्यक्ष दुर्गाप्रसाद ढकाल, बागलुङ सेवा समाज ओमानका अध्यक्ष खेम खड्का थोकी, पाल्पाली परिवार ओमानका महिला प्रमुख सावित्रा पोखरेल, म्यागदी नेपाली प्रवासी संघका उपाध्यक्ष गणेश चोखालसहित ओमानमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित दर्जनौं नेपालीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएको विविध सांस्कृतिक कार्यक्रमबीच अनुष्का तमाङले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष पार्वती श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् भने नवनियुक्त अध्यक्ष मादी गुरूङले मन्तव्य राख्नुका साथै नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।